मधेस प्रदेश सरकारको कार्य सम्पादन सुस्त गतिमा भएको भन्दै सत्ता साझेदार दल नै असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
सत्ता साझेदार दल जनमत पार्टीले सरकारप्रति असन्तुष्टि जनाएको हो। पार्टी केन्द्रीय सचिवालय बैठकमा चार महिनाअघि गठन भएको कृष्णप्रसाद यादव नेतृत्वको सरकारको कार्यसम्पादन अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै नेताहरूले सरकारको गति र कार्यशैलीप्रति खुलेर प्रश्न उठाएका छ्न्।
बैठकमा मधेस सरकारको कामकाजको विस्तृत समीक्षा गरिएको थियो। बैठकमा सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको निष्कर्ष निकालिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए।
महासचिव सिंहले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यक सुधार नभए समर्थनबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने समेत चेतावनी दिए। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन कमजोर देखिएको छ भने पुँजीगत खर्चसमेत न्यून रहेको छ। विकास योजनाहरू अघि बढ्न नसकेको र कतिपय आयोजनामा अझैसम्म टेण्डर प्रक्रिया नै सुरु नहुँदा अलपत्र अवस्थामा रहेको उनले बताए।
महासचिव सिंहले सरकारले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै काम गर्ने शैलीमै परिवर्तन आवश्यक रहेको बताए। नयाँ बजेट तयारीको समय नजिकिँदै गर्दा नीति तथा योजना आयोग पनि अपेक्षित रूपमा सक्रिय नभएको आरोप जनमत पार्टीको रहेको छ।
हाल मधेस प्रदेश सरकारमा कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेकपा गरी चार दल सहभागी छन्। जनमत पार्टीले अर्थ तथा सामाजिक विकास र खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ।
गठबन्धनको समन्वय र राजनीतिक संस्कृतिअनुसार सरकार अघि नबढेको भन्दै आन्तरिक असन्तुष्टि चुलिएको हो।

प्रतिक्रिया