मधेस


अन्ततः धनुषा १ मा नेकपाका मातृका यादव निर्वाचित

अन्ततः धनुषा १ मा नेकपाका मातृका यादव निर्वाचित

सुभाष कर्ण
फागुन २५, २०८२ सोमबार २१:५८, जनकपुरधाम

अन्ततः निर्वाचन आयोगले धनुषा १ को प्रतिनिधि सभा सदस्यमा नेकपाका मातृका यादव विजयी भएको घोषणा गरेको छ। सोमबार बेलुका निर्वाचन आयाेग विवादकैबीच यादवलाई विजयी घोषणा गरेको हो।

निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ। नेकपाका कार्यकर्ता तथा समर्थकहरुको व्यापक दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ।

निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजपछि दुई/दुई पटक फरक फरक निर्णय गरेपछि विवादमा परेको थियो। पहिलो पटक साहको मतपत्रको छुट्टै लगत राखि मतपरिणाम सार्वजनिक गर्न भनेको थियो। 

रास्वपा पार्टीबाट आइतवार दबाव परेपछि सोही दिन बेलुका मत परिणाम सर्वोच्च अदालतमा मुद्दा गएको कारण सार्वजनिक नगर्न भनेको थियो। सो निर्णय अनुसार निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम रोकेको थियो। निर्णय फेरिएपछि नेकपा कार्यकर्ताहरू आइतवार बेलुकादेखि आन्दोलनरत थिए।

यता, नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएका थिए। 

कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत नदेखिएको नेकपाको जिकिर थियो।

आयोगले साेमबार सर्वाेच्चको आदेशपछि यादवलाई प्रमाणपत्र दिने निर्णय लिएको हो। अर्को पेसी २९ गतेलाई तोकिएको छ। त्यतिन्जेल नतिजा राेक्दा असर पर्ने भन्दै सर्वोच्चले पछि निर्णय गरे अनुसार नै हुने गरी हाललाई प्रमाण पत्र दिने निर्णय गरेको हो।

विजयी नेकपाका मातृका यादवले १० हजार ४३० मत ल्याउँदा कांग्रेसका रामपलटन साहले ९ हजार ५०२ ल्याएका छन्। नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३२५ मत ल्याएका छन्।

रास्वपाका उम्मेदवार साहले ३० हजार ४९१ ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad