मधेस


हुलाकमार्फत घरघरमै पासपोर्ट

हुलाकमार्फत घरघरमै पासपोर्ट

नेपालखबर
जेठ २१, २०८३ बिहिबार ५:४१, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय, रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पुर्‍याउने सेवा सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबिच गत वैशाख २४ गते भएको सम्झौतापछि पहिलो चरणमा २१ राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण अभियान सुरु गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधबार गौर नगरपालिका–२ महादेवपट्टिस्थित सेवाग्राही राजु राम र विकास पासवानको घरमा पुगेर राहदानी हस्तान्तरण गर्नुभएको हो।

राहदानी हस्तान्तरण गर्दै प्रजिअ भुसालले सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको बताए।

राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनाका साथै समय र खर्च बचत हुने प्रजिअ भुसालले बताए।

जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा राहदानी वितरण प्रणालीलाई थप सहज बनाउँदै अब सेवाग्राहीले घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागु गरिएको प्रजिअ भुसालको भनाइ छ।

घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्कस्वरूप रु ५५ बराबरको टिकट खर्च बेहोर्नुपर्ने व्यवस्था गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले जानकारी दिए।

उनका अनुसार पुराना तथा वितरण हुन बाँकी रहेका पासपोर्टहरूसमेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत नागरिकको घरमै पुर्‍याउने तयारी भइरहेको छ।

ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि यो कार्य उपयोगी हुने कार्यालय प्रमुख यादवले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad