नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिएर सभापतिबाट राजीनामा दिने मन बनाएपछि सो पार्टीमा अबका विकल्पमाथि बहस भइरहेको छ।
सभापति थापाले आफूले राजीनामा दिएर उपसभापति विश्वप्रकाश शर्मालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने विकल्प अगाडि सारेका छन्। थापाले शर्मालाई पदबाट राजीनामा दिने जानकारी गराएर पार्टीको जिम्मेवारी लिन आग्रह गरेका थिए।
पार्टीको पराजयको जिम्मेवारी लिएर आफूले पद त्याग गर्नु उचित हुने थापाको धारणा छ।
‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु,’ थापाले भने।
उपसभापति शर्माले भने सभापतिबाट तत्काल राजीनामा नदिन थापालाई सुझाव दिएर कार्यवाहक सभापतिको जिम्मेवारी नलिने संकेत गरेका छन्।
निर्वाचन परिणामलाई केबल व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने शर्माको भनाइ छ।
‘यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो। तर, यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमितिको हो,’ उनी भन्छन्।
पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्ने भन्दै सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठेरो अवस्थामा पुग्न दिनु नहुने शर्माको भनाइ छ।
‘नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औँ दिनमा चुनाव थियो। त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठेयारो अवस्थामा पुग्न दिनुहुन्न,’ उनी भन्छन्।
उपसभापति शर्मासँगै अधिकांश नेता–कार्यकर्ता थापालाई राजीनामा नदिन १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएर नेतृत्वमा सांगठनिक सुधारको अभियान थाल्न सुझाव दिइरहेका छन्। पार्टीभित्र सुधार, संगठन पुनर्निर्माण र नयाँ राजनीतिक एजेन्डा कमजोर हुने उनीहरूको चिन्ता छ।
पार्टी पराजयको मौकामा पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरू भने गगनमाथि नैतिकताको प्रश्न उठाएर पार्टीभित्र गुमेको प्रभाव पुनः फर्काउने रणनीतिमा देखिन्छन्। उनीहरूले विशेष महाधिवेशनको औचित्य र गगन नेतृत्वमा कांग्रेसले भोग्नु परेको पराजयलाई नैतिकताको विषय बनाएका छन्।
नैतिकता र प्रश्नको जगमा उदाएका थापाले देउवा पक्षको दबाबमा राजीनामा दिए के गर्ने भन्ने विकल्पबारे पनि कांग्रेसमा छलफल भइरहेको छ। संस्थापन पक्ष उपसभापति शर्मालाई नेतृत्व सम्हाल्न दबाब दिने तयारीमा छ। यता विशेष महाधिवेशनबाट विस्थापित देउवा पक्ष १५ औँ महाधिवेशन आयोजक समिति बनाएर पार्टीको एकता र सर्वोच्च अदालतमा दायर रिट फिर्ताको बाटोमा जान तयार देखिन्छ।
देउवा पक्षीय एक नेताले भने, ‘१४ औँ महाधिवेशनबाट आएको समिति विघटन भएकै छ। विशेष महाधिवेशनबाट आएको कार्यसमिति पनि विघटन गरेर १५ औँ महाधिवेशन आयोजक समिति बनाएर जाँदा पार्टीमा एकता कायम हुन्छ। मुद्दा मामिलाको विषय पनि टुंगिन्छ।’
सभापति थापा र शर्माबीच उक्त विकल्पमाथि पनि छलफल भएको छ। सभापति थापा तयार भए १५ औँ महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने तटस्थ नेताहरूको बढीमा २१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएर जान सकिने देउवा पक्षको वैकल्पिक प्रस्ताव छ।
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको परिणामपछि आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त हुनुपर्ने बताए।
‘अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले म–म भन्दै विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत् एकताका लागि निष्ठा र समर्पणभावका साथ अगाडि बढ्नु पर्ने हामी सबैको नैतिक कर्तव्य र जिम्मेवारी छ,’ उनी भन्छन्, ‘हाम्रा अगाडि खडा भएको हिमालयजत्रो चुनौतीको सामना गर्ने उपयुक्त बाटो त्यो हो त्यस्तो लाग्छ।’
संसदमा गगनको अनुपस्थिति
विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व सम्हालेका थापा चुनावी परिणामबाट स्तब्ध छन्। सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहसँग पराजय भोगेका थापालाई देशभरको चुनावी परिणामले घायल बनाएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेस १८ सिटमा खुम्चिएको छ भने समानुपातिक मतमा पनि ठूलो गिरावट देखिएको छ।
पार्टीको पराजय र संसदमा गगनको अनुपस्थितिले कांग्रेसका नेता–कार्यकर्ता अलमलमा छन्। गगनको अनुपस्थितिमा संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका पार्टीबाट कसले निर्वाह गर्छ भन्ने रिक्ततापूर्ण प्रश्न बहसमा आएको छ।
निर्वाचनले कांग्रेसलाई सुम्पिएको प्रमुख प्रतिपक्षको जिम्मेवारीको भारी बोक्न सक्ने राजनीतिक विरासत र राज्य सञ्चालनको अनुभव भएका नेताहरू चुनावी मैदानमा रोकिएका छन्। राजनीतिक र राज्य सञ्चालनको अनुभव नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को करिब दुई तिहाइको सरकारलाई खबदारी गर्न सक्ने अभ्यास र अनुभव भएका सभापति थापासँगै कांग्रेसका सबैजसो नेता पराजित भएका छन्।
महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे, नेता शेखर कोइराला, विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, एनपी साउदलगायत पनि संसदबाहिर रहन पुगेका छन्। कांग्रेसले समानुपातिकमा करिब २० सिट प्राप्त गर्ने देखिन्छ। यस्तो अवस्थामा ३८ सांसदसहित कांग्रेस संसदको प्रमुख प्रतिपक्षी दल बन्ने छ।
Shares

प्रतिक्रिया