मधेस


भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

सुभाष कर्ण
माघ १९, २०८२ सोमबार २०:३९, जनकपुरधाम

सीमापार भारतीय भूमिमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापामारी गरिएको छ। भारतमा नक्कली नोट छपाई गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ समेत गरेको छ। 

भारत बिहार राज्यको सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ)ले गरेको संयुक्त कारबाहीमा नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर नष्ट गरेको भारतीय प्रहरीले जनाएको छ।

छापा मार्ने क्रममा प्रहरीले २५ लाख नेपाली नक्कली नोट, एक लाख ४० हजार सक्कली नेपाली रुपैयाँ, एक हजार ८५० नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, नोट विशेष सादा २२ बण्डल कागज, रसायन लगायतका सामग्री बरामद गरेको बिहार पुलिसले जनाएको छ। नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र कार पनि बरामद गरिएको छ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर विस्तृत सोधपुछ भइरहेको र गिरोहका अन्य सदस्य र मुख्य योजनाकारको पहिचान खुल्ने काम भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ। अभियुक्तहरुको नाम भने अझै सार्वजनिक गरिएको छैन।

उक्त गिरोहले खुला नेपाल–भारत सिमानाको फाइदा उठाउँदै निर्वाचनको समयमा नेपालमा नक्कली नोट तस्करी गर्ने र बजारमा बिक्री गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

आसन्न प्रतिनिधि सभा निर्वाचनमा पैसाको चलखेल गरी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नक्कली नोटको छपाई भइरहेको आशंका गरिएको छ।

निर्वाचनको संवेदनशील अवधिमा आर्थिक अराजकता सिर्जना गर्ने र राजनीतिक गतिविधिलाई प्रभावित पार्ने उद्देश्यले यो नियोजित कारबाही भएको भारतीय प्रहरीले आशंका गरेको छ।

भारतीय प्रहरीले नक्कली नोटको कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामा गम्भीर खतरा भएकाले घटनालाई उच्च प्राथमिकता दिएको बताएका छन्। नेपाल र भारत दुवै ठाउँमा सक्रिय गिरोहको खोजी तीव्र पारिएको बुझिएको छ।

मधेशका सर्लाही, महोत्तरी र रौतहटका सीमावर्ती क्षेत्रबाट अहिले पुरुष, महिला र बालबालिकाले नेपालमा नक्कली नेपाली र भारतीय नोट तस्करी गर्न थालेकाले नेपाली सुरक्षाकर्मीलाई चेकजाँचमा कडाइ गरेर आफ्नो उद्देश्य असफल पार्ने चुनौती थपिएको छ।

नेपाली सुरक्षाकर्मीले तस्करीलाई दोस्रो प्राथमिकतामा राखेका कारण यी अपराधिक गतिविधिलाई नियन्त्रण र अनुगमन गर्न ठूलो चुनौती देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad