मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्।
मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि विपक्षी दलहरूसँग मिलेर नयाँ सरकार गठनका लागि पहल सुरु गरिएको हो।
सोनलसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, नेकपा (माओवादी केन्द्र) का उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्त पार्टीकी सांसद उर्मिला देवी सिंहले प्रदेश प्रमुख भण्डारीसँग भेट गरी संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि प्रक्रिया सुरु गर्न माग गरेका हुन्।
कार्यवाहक मुख्यमन्त्री सोनलका अनुसार १०७ सदस्यीय प्रदेशसभामा करिब ८५ सांसदले आफूहरूको पक्षमा समर्थन जनाएको दाबी गरिएको छ।
सोनल नेतृत्वको समूहले अबको सरकार स्थिरता, सुशासन र प्रदेशको विकासमुखी एजेन्डामाकेन्द्रित रहने बताएको छ।
Shares

प्रतिक्रिया