मधेस


पत्रकारमाथि आक्रमण गर्ने वकिललाई कारबाही गर्न माग गर्दै धर्ना

पत्रकारमाथि आक्रमण गर्ने वकिललाई कारबाही गर्न माग गर्दै धर्ना

नेपालखबर
भदौ १, २०८२ आइतबार १४:२४, धनुषा

जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन्।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आइतवार धर्नामा बस्दै उनीहरुले पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई तत्काल पक्राउ गर्न माग गरेका हुन्।

गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एशोसिएशन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। 

वकिलहरुको आक्रमणबाट पत्रकार महासंघ प्रदेश अध्यक्षसहित उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए। 

पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले महासंघ प्रादेशिक भवन निर्माणका लागि गुठी संस्थानसँग सम्झौता गरी जग्गा लिजमा भएको भएपनि नेपाल बार एसोसिएसन जनकपुरमा आवद्ध वकिलहरुले सो जग्गा आफ्नो मातहत भएको दाबी गर्दै विवाद सिर्जना गरेको बताए।

‘प्रधानमन्त्री जनकपुर आउनुभएको थियो, उहाँलाई पनि ध्यानाकर्षण गरायौं, गृहमन्त्रीलाई पनि ध्यानाकर्षण गरायौं, तर पनि धुनषाको प्रहरी प्रशासनले ती आरोपीहरुलाई अहिलेसम्म छुन पनि सकेको छैन,’ साहले भने, ‘प्रहरीले जुन निरिहता प्रस्तुत गरेको छ, यसविरुद्ध आज हामीले जिल्ला प्रशासन धनुषाको कार्यालय अगाडि धर्ना दिएका छौं। अब पनि हाम्रा मागहरु पुरा भएनन् भने हामी प्रदेश समितिको अगुवाइमा प्रदेशका ८ वटै जिल्लामा प्रदर्शन विस्तार गर्दै जान्छौं।’

महासंघ मधेस प्रदेश कमिटीका अध्यक्ष श्याम बञ्जाराले आक्रमणकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएपनि स्थानीय प्रशासनले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरे।

उनले देशव्यपाी आन्दोलन नहोस् भन्ने उद्देश्यले अहिलेलाई शान्तीपूर्ण धर्नाको माध्यमबाट स्थानीय प्रशानलाई दबाब दिएको उल्लेख गर्दै पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुमाथि कारबाही नगरिए आन्दोलनको शैली परिवर्तन गरेर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad