तपस्वी बनेर चर्चामा आएका युवक रामबहादुर बम्जन सम्पत्ति शुद्धीकरणको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई थुनामा राख्ने आदेश गरेपछि मलंगवा कारागार चलान गरिएको हो।
गत फागुन ५ गते बम्जनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँबराबरको अवैध कारोबार गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो। त्यतिखेर उनी बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका थिए। जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) 'छ' अनुसारको कसुर गरेको ठहर गरेको थियो। जिल्ला अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको थियो। पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो।
तर उच्च अदालत राजविराजले उनीविरुद्धको मुद्दा हदम्यादबाहिरको भन्दै खारेज गरिदिएको थियो। न्यायाधीशद्वय नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले गत चैत ६ गते गरेको फैसलामा हदम्याद नघाएर ल्याएको अभियोगपत्रको विषयवस्तुमा प्रवेश गर्न आवश्यक नै नभएको उल्लेख गरिएको छ।
उक्त फैसलालगत्तै बम्जन कारागारमुक्त भएका थिए।
सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित भएका उनलाई तत्काल प्राप्त प्रमाणले उनलाई निर्दोष मान्न नसकिने भन्दै थुनामा पठाउने आदेश भएको हो।
बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी परेको थियो।
२०८० सालको पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेको थियो। त्यसअघि प्रहरीले लामो समयसम्म पक्राउको प्रयास गरे पनि असफल भएको थियो। पछिल्लोपटक तीन महिना पछ्याएर उनलाई पक्राउ गर्न सफल भएको थियो।
बूढानीलकण्ठमा उनलाई पक्राउ गरेर घरमा खानतलासी लिँदा विभिन्न देशका मुद्रा फेला परेका थिए।
उनको घरबाट सीआईबीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँबराबरका बरामद भएका थिए।
उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो।
याे पनि
-
बमजनलाई सफाइ दिँदै उच्च अदालतले भन्यो- हदम्याद नाघेको मुद्दामा व्याख्या विश्लेषण आवश्यक छैन
-
रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला
-
रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश
-
रामबहादुर बम्जनको घरबाट बरामद झन्डै साढे ३ करोड सार्वजनिक (तस्बिर)
-
काठमाडौँमा रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद
-
सीआईबीले सार्वजनिक गर्यो रामबहादुर बम्जन (तस्बिरहरू)
-
रामबहादुर बम्जन पक्राउ गर्न सीआईबीले चलाएको थियो ‘अपरेसन ब्लु’
-
‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ
-
‘तपस्वी’ बम्जनलाई पक्राउ गर्न प्रहरीले चलाएको त्यो अपरेसन (भिडिओ)
Shares

प्रतिक्रिया