मधेस प्रदेश सरकारले वर्षे धानलाई लक्षित गर्दै स्थानीय तहहरूमा रासायनिक मल वितरणका लागि सरोकारवाला निकायलाई बाँडफाँट गरेको छ।
धानबाली रोपाईं सुरु भइसकेपनि रासायनिक मल वितरण नगरेको आरोप लागिरहेका बेला प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत गठित प्रदेश मल समितिले रासायनिक मल युरिया र डीएपी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गलाई वितरणका लागि बाँडफाँट गरेको हो।
समितिको जेठ २७ गतेको निर्णयानुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको मन्त्रालयले जनाएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडतर्फको युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडतर्फको डीएपी मल मधेस प्रदेशमा रहेका १३६ वटै स्थानीय तहहरूमा बाँडफाँट गरिएको मन्त्रालयका प्रवक्ता मनीष कुमार पालले जानकारी दिएका छन्।
मन्त्रालयले सप्तरीका १८ वटा स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डीएपी मल वितरण गर्न भनेको छ।
त्यस्तै, सिरहामा रहेको स्थानीय तहका लागि १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डीएपी, धनुषामा रहेका स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डीएपी मल बाँडफाँट गरेको छ भने महोत्तरीमा रहेका स्थानीय तहहरूका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डीएपी मल वितरण गरेको हो।
यसैगरी सर्लाहीमा रहेका स्थानीय तहका लागि १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डीएपी, रौतहटका स्थानीय तहका लागि ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डीएपी, बारामा रहेका स्थानीय तहका लागि ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डीएपी, पर्सामा रहेका स्थानीय तहका लागि मन्त्रालयले ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको छ।
Shares

प्रतिक्रिया