मधेस


छठका लागि महँगो मूल्यमा केरा किन्न बाध्य छन् जनकपुरवासी

छठका लागि महँगो मूल्यमा केरा किन्न बाध्य छन् जनकपुरवासी

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १६:५५, काठमाडौँ

मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरू लागेका छन्। ब्रतालुहरू आज नहाए खाए विधिसँगै छठ ब्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरू छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा लागेका छन्।

छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नारिवल लगायतका फल पर्छ। 

अहिले फलफूल मण्डीमा केरा किन्न आउनेहरूको भीड बढेको छ। छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोेग हुने केरा किन्नेहरूको जनकपुरधामका प्रमुख बजारहरूमा केही दिन यता भीड लागेको छ।

प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको विक्री छठ पर्वको पूर्वसन्ध्यामा व्यापक वृद्धि भएको छ। यद्यपि अन्य वर्षभन्दा महँगो मूल्यमा श्रद्धालुहरू केरा किन्न बाध्य भइरहेका छन्। यस वर्ष पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरूको छ।

यसवर्ष भारतबाट खरिद गरेर नेपाल भित्र्याउन रोक लगाएकाले केराको अभाव भएको जनकपुरधामस्थित फलफूल व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेले बताए। 

उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो भने यो वर्ष भन्सारमा रोक लगाइएकाले ६० ट्रक केरा आयात गरिएको छ।

जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिँदै आएको थियो। जबकि यस वर्ष नवलपरासीको त्रिवेणीबाट मात्रै केरा बढी मात्रामा आयात गरिएको छ। 

भारतको केरा सस्तो भएपनि नेपाल भित्र्याउन समस्या भएपछि त्यसको मार उपभोक्तामा पर्ने निश्चित रहेको फलफूल व्यवसायी दीलिप साले बताए।

छठका लागि केरा किन्न पुगेका उपभोक्ता पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताउँछन्। पहिला पहिला ३ सयदेखि ५ सय रुपैयाँमा केरा किन्न पुग्थ्यो। तर यस वर्ष कम्तीमा ८ सयदेखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad