चर्को आलोचनापछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने भएका छन्। ८ राज्यमन्त्रीसहित २० सदस्यीय मन्त्रिपरिषद् बनाएपछि मुख्यमन्त्री सिंहको चर्को आलोचना भएको थियो।
यही विषयमा पार्टीले पनि उनलाई स्पष्टीकरण सोधेको थियो।
नेकपा एमालेको तर्फबाट राज्यमन्त्री बनेका तीन सांसदले हिजो (सोमबार) नै पार्टी संसदीय दलका नेता सरोज कुमार यादवलाई राजीनामा बुझाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव रायले भने, ‘हामीले संसदीय दलको नेतालाई हिजो नै राजीनामा बुझाएका हौँ। उहाँले आज मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको छ।’
अन्य दलबाट राज्यमन्त्री बनेकाहरूलाई पनि मार्गप्रशस्त गरेर बर्खास्तीमा नपर्न मुख्यमन्त्री सिंहले आग्रह गरेका थिए।
प्रदेश प्रमुख कार्यालयका अनुसार, पदमुक्त गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्राप्त भएको छ।
‘अहिले केहीबेर उक्त पत्र होल्डमा राख्नु भन्ने खबर आयो,’ प्रदेश प्रमुख कार्यालयका एक कर्मचारीले भने, ‘पदमुक्त गरिएको भन्दा गलत अर्थ लाग्न सक्ने भएकाले उहाँहरू सबैको राजीनामा आउन लागेको बुझिएको छ।’
एमालेका मोहम्मद जैद आलम, केशव राय, शारदादेवी थापा, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह र रन्जु खंग, कांग्रेसका रेखा ठाकुर र निलम कुमारी राज्यमन्त्री नियुक्त भएका थिए।
Shares

प्रतिक्रिया