सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रुपमै बिजुली चोरी भइरहेको पाइएको छ।
नेपाल विद्युत् प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइतबार, सोमबार,मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रुपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको हो।
प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रुपमा एक सय ग्राहकको सिङ्गल तथा थ्रि फेज मिटरको छट्के जाँच गरेको थियो। त्यसमध्ये ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए।
प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैरकानुनी क्रियाकलाप संगठित रुपमै भइरहेको पाइएको बताए।
उनले गैरकानुनी रुपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशन दिइएको बताए।
उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ।
कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्रि फेजका दुईवटा राइस मिल र एउटा सिँचाइको ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ।
उक्त मिलहरुले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए। ब्रम्हबाबा जलउपभोक्ता समिति, धनकौलले ५० एमभीएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो। उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
Shares

प्रतिक्रिया