सर्लाहीको हरिवन नगरपालिका–४ स्थित सासापुर स्वास्थ्य चौकीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा सुरु गरेको छ।
प्रत्येक महिनाको १ दिन विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी कमलले जानकारी दिए।
शनिबार पहिलोपटक विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह गरेर स्वास्थ्य चौकीमा यो सेवा थालिएको हो।
शनिबार दीर्घायु गुरु अस्पताल चाबहिलका फिजिसियन तथा बाथरोग विशेषज्ञ डाक्टर नरेन्द्रप्रसाद मैनालीले ८० जना बिरामीको स्वास्थ्य जाँच र उपचार गरेका छन्। बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको मेयर बुढाथोकीले जानकारी दिए।
‘आगामी चैतदेखि प्रत्येक महिनाको पहिलो आइतबार डा. मैनालीले यसरी नै सेवा प्रवाह गर्नुहुने छ,’ मेयर बुढाथोकीले भने, ‘उहाँ हरिवन निवासी नै भएकाले प्रत्येक महिनाको पहिलो आइतबार स्वास्थ्य चौकीमा आएर सेवा दिने सहमति जनाउनुभएको छ।’
त्यसैगरी हरेक तीन महिनामा एक दिन मेडिसिटी अस्पतालका डाक्टरले पनि सासापुरमा आएर निःशुल्क सेवा दिने सहमति भएको बुढाथोकीले जानकारी दिए।
सासापुर अस्पताललाई हरिवन नगरपालिकाले नगर अस्पतालका रुपमा विकास गर्दै लगेको छ। बुढाथोकी मेयर बनेपछि स्वास्थ्य चौकीमा ल्याब, एक्स रे, एम्बुलेन्सलगायत सेवा सुरु भएका छन्।
‘गरिब नागरिकले बाहिर गएर महँगो शुल्क तिरेर उपचार गर्न सक्दैनन्,’ उनले भने, ‘ग्रामीण भेगका न्यून आए भएका नागरिकले पनि निःशुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले हामीले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गरिरहेका छौँ।’
सासापुर स्वास्थ्य चौकीमा ल्याब, एक्स रे, एम्बुलेन्सलगायत स्वास्थ्य सेवा सुरु भएपछि बिरामीको संख्या चार गुणाले बढेको छ।
Shares

प्रतिक्रिया