मधेस


डेढ सय विद्यार्थी एउटै कक्षामा

डेढ सय विद्यार्थी एउटै कक्षामा

नेपालखबर
पुस २५, २०७९ सोमबार ७:३६, गोलबजार

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा भइरहेको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाइरहेका छन्। नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो। विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन्। 

शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ। यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताए। सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १ देखि ८ सम्म दुई सय ६९ विद्यार्थी अध्ध्यनरत छन्। 

कक्षा छ मा ४०, कक्षा सातमा ५७ तथा कक्षा आठमा ५४ विद्यार्थी अध्ययनरत रहेका प्रअ यादवले बताए। ‘डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पठाउनु परिरहेको छ’, उनले भने, ‘यसरी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज हुने गरेको छ, यो बाहेक हामीसित अरु उपाय छैन।’

विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी खाली छ। विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा अनभिज्ञ छ। शाखा प्रमुख दिनेशकुमार मण्डलले  यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी हुनसक्ने बताए। 

विद्यालयमा चार बजेसम्म पठनपाठन कमै हुने यहाँ अध्ययनरत विद्यार्थी बताउँछन्। ‘दुई बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिक्कै बसेर के गर्नु रु’, कक्षा सातमा अध्ययनरत रञ्जना मण्डलले भनिन्, ‘सबै विषयको पढाइ कहिल्यै हुँदैन।’ 

बालविकास कक्षा सहयोगी निलमकुमारी राम एउटै ठाउँमा धेरै विद्यार्थी राखेर पढाउँदा पठनपाठन प्रभावकारी नहुने बताउँछिन्। ‘शिक्षक अभावले तीन कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता छ, विद्यार्थीलाई सम्हाल्नै मुस्किल हुन्छ।’

प्रअ यादवको पनि आफ्नै समस्या छन्। ‘विद्यालयकै कामले विभिन्न ठाउँमा जानुपर्ने हुन्छ, सधैँ विद्यालयमा भइन्न’, उनले भने। विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश यादवले दरबन्दी अनुसारको शिक्षक नआउँदासम्म समस्या भइरहने बताउँछन्। 

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव चाँडै दुई शिक्षक निजी स्रोतमा राखेर समस्या समाधान गरिने बताउँछन्। विद्यालयमा शिक्षक मात्र होइन फर्निचरको समेत अभाव छ। ‘सबै विद्यार्थीलाई बस्न बेन्चको अभाव छ’, प्रअ यादवले भने। विद्यालयसित रहेको सात कट्ठा जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ। विद्यालयको घेरपर्खाल समेत छैन। प्रदेश सामाजिक विकास मन्त्रलयअन्तर्गतको सामाजिक विकास एकाइको सहयोगमा रु २५ लाखको लागतमा हालै दुईकोठे पकी भवन निर्माण गरिएको छ। रु ५० लाखको लागतमा यहाँ चारकोठे भवन निर्माण गरिँदै छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad