मधेस


सर्लाहीको प्रहरी कार्यालयमा हुलहुज्जत गर्ने तीन पक्राउ

सर्लाहीको प्रहरी कार्यालयमा हुलहुज्जत गर्ने तीन पक्राउ

नेपालखबर
असार ५, २०८३ शुक्रबार १८:४२, काठमाडौँ

जग्गा विवादका कारण प्रहरी कार्यालयमा हुलहुज्जत तथा गाडीमा तोडफोड गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

अदालतको आदेशपछि आफ्नो स्वामित्वको जग्गा भोगचलन गर्न पुगेका पक्ष र स्थानीयवासीबीच विवादले उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रण गर्न पुगेका बेला प्रहरी कार्यालयमा हुलहुज्जत र सवारीसाधनमा तोडफोड गरेकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनापछि छलफल तथा सुरक्षा समन्वयका लागि इलाका प्रहरी कार्यालय केशरगञ्ज पुगेका बेला एक पक्षको सवारीसाधनमाथि तोडफोड गरेका थिए। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूले प्रहरीमाथि ढुंगामुढा गरी इलाका प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा समेत क्षति पुर्‍याएको छ।

घटनामा संलग्न रहेको आरोपमा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ घर भई हाल ईश्वरपुर-१५, सुकनाहामा बस्दै आएका ३२ वर्षीय विनोद कडेरिया, ६२ वर्षीय जयप्रसाद गौतम र उनका ३६ वर्षीय छोरा उज्ज्वल गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन्।

उनका अनुसार कुनै जग्गाबारे जिल्ला अदालत सर्लाहीले कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्व कायम रहेको ठहर गर्दै भोगचलनमा अवरोध नगर्न आदेश दिएको थियो। सोही आदेश कार्यान्वयनका क्रममा उत्पन्न विवादले उग्ररूप लिएको थियो।

पक्राउ परेका तीनै जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको डीएसपी गौतमले बताए। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी कार्यसमेत जारी रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad