सिरहाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले सवा २९ लाखभन्दा बढी रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले बुधबार (पुस १३ गते) २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा उल्लिखित मूल्य बराबरका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो।
सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरका लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ।
सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो बरामद गरेको हो।
बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षति पुगेको छ।

Shares

प्रतिक्रिया