मधेस


संघमा सत्ता समीकरण फेरिएपछि मधेशमा पनि कांग्रेस सत्ता बाहिर जाने निश्चित

संघमा सत्ता समीकरण फेरिएपछि मधेशमा पनि कांग्रेस सत्ता बाहिर जाने निश्चित

नेपालखबर
पुस १०, २०७९ आइतबार १८:४६, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पाँचदलीय गठबन्धनबाट अलग्गिएर एकाएक एमाले नेतृत्वको गठबन्धनमा सामेल भए लगत्तै सत्ता समीकरण फेरिएको छ।

संघमा सत्ताको समीकरण फेरिएपछि प्रदेशहरुमा समेत समीकरण फेरिएको छ। आइतबारसम्म मधेश प्रदेशमा सत्ताको नेतृत्व नेपाली कांग्रेसले गर्ने सम्भावना देखिएपनि प्रचण्डको एक निर्णयले त्यो सम्भावना लगभग समाप्त भएको छ। 

एमाले नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टी र नागरिक उनमुक्ति पार्टी सामेल भएका छन्। यी दलहरु केन्द्रमा मिल्दा संघमा मात्र नभई प्रदेशमा समेत नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने लगभग निश्चित भएको छ। 

मधेस प्रदेश १ सय ७ सदस्यीय प्रदेशसभा रहेको छ। यहाँ बहुमतका लागि ५४ प्रदेशसभा सदस्य आवश्यक पर्छ। मधेस प्रदेशसभामा एमालेसँग २३, जसपासँग १६, जनमत पार्टीसँग १३, माओवादी केन्द्रसँग ८, राप्रपा र नागरिक उनमुक्ति पार्टीका १/१ प्रदेशसभा सदस्य रहेका छन्।

संघकै सत्ता समीकरणको हिसाबले प्रदेशमा समेत सरकार बन्दा एमाले नेतृत्वको गठबन्धनलाई सहजै बहुमत पुग्ने देखिन्छ। यी दलहरुको प्रदेशसभा सदस्यहरुको संख्या जोड्दा बहुमतका लागि आवश्यक ५४ सीटभन्दा ८ सीट बढी ६२ सीट पुग्छ। 

एमाले नेतृत्वको गठबन्धनले मधेश प्रदेशमा बहुमत पुर्याएपनि एमालेले सत्ताको नेतृत्व गर्ने सम्भावना कमै रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। मधेश प्रदेशको सरकारको नेतृत्वका लागि फेरि जसपाले नै दाबी गर्ने सम्भावना बढेको छ। यद्यपि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समेत मधेश प्रदेशको मुख्यमन्त्रीमै दाबी गर्दै आइ रहेका छन्।

जसपा वा जनमतमध्ये कसले मधेश सरकारको नेतृत्व गर्ने विषयमा संघमा सरकार गठन भए लगत्तै यहाँ पनि छलफल अगाडि बढाइने एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad