साहित्य


कविता : समर्पित प्रतिभाहरू

कविता : समर्पित प्रतिभाहरू

ईश्वर पोखरेल
जेठ २६, २०८३ मंगलबार १५:५२, काठमाडौँ

तीनतले सरकारी भवन बनाउँदा/नबनाउँदै
साततले घर पैंचो गर्ने ठेकदारहरू,
सरुवाका आँधीबेहरी उठ्दा पनि
सिंहदरबारबाट टसमस नहुने
र, सिंहदरबारबाटै देशभरको
सरुवा/बढुवा र पदस्थापनको रठ्ठापठ्ठा मिलाउने
सतीसाल सुब्बा साहेबहरू, 
तलब सरकारी/सामुदायिक स्कुल/क्याम्पसबाट बुझ्ने 

र, चौबिसै घन्टा निजी स्कुल/क्याम्पसमा खट्ने मास्टर/प्रोफेसरहरू

प्वालैप्वाल भएको छाता जस्तो सडक
र च्यातिएको लगौँटी जस्तो
पुल र घेराबेरा गर्ने इन्जिनियरहरू,
एकै बर्खामा बग्ने सडकको ठेक्का
पटकपटक पास गर्ने ओभरसियरहरू,
फाइलमा पक्की र फिल्डमा कच्ची
नक्सा कोर्ने आर्किटेक्टहरू,

कमिसनको हिसाब मिलाउँदा मिलाउँदै
रिटायर भएर पनि हैकम नछोड्ने
अड्डाका हाकिम साहेबहरू,
नाथे तलबलाई सितन बनाएर 
'रेडलेबल' घुट्क्याउने खाँट्टी राष्ट्रवादी राष्ट्रसेवकहरू,
यस देशमा 
विकास निर्माणको काममा
र, लोकतन्त्रलाई संस्थागत गर्ने सवालमा
युगौंदेखि समर्पित छन्।

यी होनहार प्रतिभाहरूको योगदानको मूल्याङ्कन
यस देशमा कहिले हुन्छ?
यी समर्पित प्रतिभाहरूको अभिनन्दन 
हाम्रो लोकतन्त्रमा कसरी हुन्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad