साहित्य


कवि अकिञ्चनको तेस्रो कृति ‘सायद किनाराहरू’ लोकार्पण

कवि अकिञ्चनको तेस्रो कृति ‘सायद किनाराहरू’ लोकार्पण

मगेन्द्र राई
साउन ४, २०८२ आइतबार १०:३८, काठमाडौँ

युवा कवि उमेश अकिञ्चनको नवीनतम कविता सङ्‌ग्रह ‘सायद किनाराहरू’को शनिबार काठमाडौँस्थित एक होटलमा औपचारिक लोकार्पण गरिएको छ। उक्त लोकार्पण समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज, विमला तुम्खेवा लगायत अभिनेता जीवन लुइँटेल र समीक्षक राजकुमार बानियाँले कविता सङ्‌ग्रह सार्वजनिक गरेका थिए।  

उपस्थित व्यक्तित्वहरूले कवि अकिञ्चनका कविताहरूमाथि आआफ्नो धारणा राखेका थिए।  

कवि श्रवण मुकारुङले कविता कुनै धारणाभित्र मात्रै सीमित नरहेको बताउँदै  नयाँ आविष्कार समेत भएको बताए। उनका अनुसार अकिञ्चनले कवितामा नौला विम्ब, भाव र संसारको आविष्कार गरेका छन्। 

अर्का वक्ता कवि विमला तुम्खेवाले झन्डै तीन दशकदेखि कविता सिर्जनामा साधनरत कवि अकिञ्चनका कविताले समयको कुरुप पक्षमाथि शालिन ढंगले प्रहार गरेर समयसँग संवाद गरेको बताइन्।

अकिञ्चन १५/१६ वर्षको उमेरदेखि कविता कर्ममा लागेका हुन्। त्यो समय  साहित्य पढ्ने लेख्ने कार्यले पढाइ बिग्रन्छ भन्ने आमधारणा थियो। कक्षाका प्रथम विद्यार्थी उनी यही धारणाको सिकारमा परी साहित्यभन्दा किताबी पढाइ र हाजिरी जवाफतिर बढी ढल्केको बताउँछन्।

सिर्जना गर्न समय र वातावरण चाहिन्छ भन्छन्, राष्ट्रसेवामा समर्पित हुनुहुन्छ, अन्य जिम्मेवारी पनि छन्, यस्तो अवस्थाले सिर्जनामा बाधा पुर्‍याउँदैन? भन्ने नेपालखबरको प्रश्नमा अकिञ्चन भन्छन्, ‘सिर्जनामा समय र वातावरणको हात निश्चय नै रहन्छ। सायद अब वातावरण मिलाउन, अभ्यस्त भइयो। प्रत्येक विषयको आआफ्नै शक्ति र सीमा हुन्छ। स्वदेश, विदेशका भ्रमणले दिने अनुभूति, विभिन्न मानिसहरूसँगको प्रत्यक्ष भेट, जीवनयापनको अनुभवले सिर्जनात्मक कार्यमा उत्प्रेरित गराउँछ। तथापि समयको सीमितता, विषयको सजगता यसका सीमा हुन्।’

आफ्नो रुचि सङ्ख्यात्मकभन्दा गुणात्मक सिर्जनामा रहने गरेको अकिञ्चन बताउँछन्। 

उनको पहिलो कृति भाइ आशीष साम्पाङ महेशसँगको ‘एक सगर, दुई तारा’ २०६४ संयुक्त गजल सङ्‌ग्रह रहेको छ भने दोस्रो ‘मोनालिसा र मार्च ८’, २०६८, कविता सङ्‌ग्रह प्रकाशित छन्। 

‘सायद किनाराहरू’ उनको तेस्रो कृति हो।

अकिञ्चन नेपाली कविताको संसारमा नौलो विम्ब, भाव र शैलीको प्रस्तुतिका कारण छुट्टै पहिचान बनाएका छन्।

इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ५४९ रुपैयाँ रहेको छ।

अकिन्चन हाल नेपाल सरकारको उपसचिव पदमा बहाल रही राष्ट्रसेवामा समर्पित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad