साहित्य


अभिलाषीको कथासङ्ग्रह ‘दहाड’ विमोचन

अभिलाषीको कथासङ्ग्रह ‘दहाड’ विमोचन

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १६:५, काठमाडौँ

कवि, लेखक र पत्रकार नवीन अभिलाषीको कथासङ्ग्रह ‘दहाड’को विमोचन सम्पन्न भएको छ।

शनिबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा नेपाली साहित्यका सिद्धहस्त लेखक नारायण ढकाल, समालोचक राजकुमार बानियाँ र समीक्षक एवं निबन्धकार कुमारी लामाले किताबको विमोचन सम्पन्न भएको हो। २०८२ को अन्तिममा सार्वजनिक यो सङ्ग्रह यसअघि नै बजारमा पुगिसकेको छ।

१२ वटा कथा समावेश सङ्ग्रहमा पञ्चायतकालिन असमानता र विभेद भोगेका आम नागरिकका विषयवस्तु समेटिऐको छ। समाजमा विकृति र विसङ्गति, पञ्चायतकालीन समय, समाज र मानवीय संवेदना, सामाजिक संरचना, अन्याय, दमन र जनजीवनको पीडालाई सङ्ग्रहमा गहिरो रूपले समेटिएको छ।

सङ्ग्रहभित्रका हरेक कथाहरूमा गरिवी, पीडा, रोदन र क्रन्दन कतै न कतै कुनै न कुनै रुपमा भेटिन्छन्। अभाव र गरिबीका प्रतिविम्बहरू कथाले समेट्न खोजेका छन्। उनका कथाहरूमा राजनीतिक बेथिति, सामाजिक विसंगति, अभाव र दवाव लगायत शिक्षा र स्वास्थ्यका कुरा समेटिएका छन्।

‘यी कथा वर्तमानका होइनन्, इतिहासका हुन्। इतिहासलाई लेख्नुपर्छ। हामीले इतिहासलाई किन लेख्नुपर्छ भने इतिहासका आवेग र प्रेतहरूले वर्तमानलाई निरुपण गरेका छन्। आज हामी जहाँ छौँ त्यो इतिहासको आवेग र इतिहासको धेरै लगानीहरूद्वारा हामी यहाँ छौँ,’ उनले भने।

यो सङ्ग्रहले लेखक अभिलाषीको उचाई थपेको बताउँदै उनले  यसबाट आफू उत्साही भएको बताए।

यसैगरी समालोचक बानियाँले समाजका पिँधमा रहेका पात्रहरूको कथा लेखक अभिलाषीले भनेको बताए। समाकालिन कथाकारमा विगतको यथार्थलाई वर्तमानको ऐनामा देखाउन कुशल शिल्पी बन्न लेखक सफल भएको उनको भनाइ थियो। ‘नवीन अभिलाषीको लेखन शैलीमा एउटा बिछट्टै रिदम छ, काव्यिक छ, उनी दार्शनिक लामा कुरा गर्दैनन्। तर स–साना घटनाबाट ठूलो सन्देश दिन खोज्छन्,’ उनले भने, ‘अभिलाषीको सबैभन्दा ठूलो शक्ति भनेको उनको भाषा हो। भारी शब्दजाल प्रयोग नगरिकन उनले पाठकको मुटु छुने क्षमता राख्दछन्।’

कथामा भएका संवादहरू झर्रा र स्वभाविक लाग्ने भएकाले कथासँगको सामिप्य अझ बढ्ने उनले बताए।

यस्तै समीक्षक एवं निबन्धकार लामाले अभिलाषीको लेखन समृद्ध र लेखनमा वैचारिक स्पष्टता भएको बताइन्। सङ्ग्रहका १२ वटा कथा नै त्यत्तिकै समान रूपमा सशक्त भएको उनको भनाइ छ। ‘पछिल्लो समय निकै कालमा मैले यति सशक्त कथाहरू मैले पढ्न पाएकी हुँ। म दाबी गरेर भन्छु,’ उनले भनिन्, ‘यत्तिको सशक्त कथाहरू पछिल्लो समय लेखिएका थिएनन्।’

दहाडलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो। अभिलाषीका यसअघिमौलामा बाँधिएको राँगो, ईश्वरको अस्थिपञ्जर कविता सङ्ग्रह प्रकाशित छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad