सन् १९५० को दशकमा अमेरिकामा २२ वर्षका रिचर्ड हेरिक नामका एक युवकको दुवै मिर्गौलाले काम गर्न छाड्यो। चिकित्सकले उनको परिवारका सदस्यसँग मिर्गौला मिल्छ कि भनेर परीक्षण गरे। परीक्षण गर्दा उनीसँगै जन्मिएका जुम्ल्याहा दाजु रोनाल्ड हेरिकसँग रिचर्डको मिर्गौला मिल्यो। अमेरिकी चिकित्सक डा जोसेफ मुरे र उनको टिमले रोनाल्डको एउटा मिर्गौला झिकेर रिचर्डको शरीरमा राखे। यस घटनाले चिकित्सा क्षेत्रमा अंग प्रत्यारोपणको नयाँ आयाम सुरु गर्यो। र, विश्वमा मानव अंग प्रत्यारोपणको सुरुवात भयो।
मिर्गौला रोगको पहिचान भने सन् १८२७ मा बेलायतका चिकित्सक रिचर्ड ब्राइटले गरेका हुन्। उनले मिर्गौलाको खराबीको कारणले शरीरमा पानी जम्ने, उच्च रक्तचाप हुने र पिसाबमा प्रोटिन देखिने लक्षणहरू पत्ता लगाएका थिए। उनले पत्ता लगाएको रोग पछि गएर ‘नेफ्राइटिस क्रोनिक किड्नी डिजिज’को रूपमा वर्गीकरण गरियो।
सन् १९२४ मा मिर्गौलासम्बन्धी रोगहरूको पहिचानका लागि बायोप्सी प्रविधि विकास भयो। वैज्ञानिकहरूले उपचारको खोजी गर्न थाले। र, पछि डायलासिस र प्रत्यारोपण विकास हुँदै गयो।
विश्वमा मिर्गौला प्रत्यारोपणको सुरुवात भने सन् १९३२ मा युक्रेनका चिकित्सक डा युरी भोरोनोयले गरेका थिए। तर प्रत्यारोपण भएको २ दिनमै बिरामीको मृत्यु भएको थियो।
त्यसपश्चात् चिकित्सकहरू मिर्गौला प्रत्यारोपणबारे थप अध्ययन गर्न थाले। सन् १९५४ मा जोसेफ मुरेको नेतृत्वमा गरिएको मिर्गौला प्रत्यारोपण सफल भयो। पहिलो सफल अंग प्रत्यारोपण गरेको भन्दै डा मुरेलाई सन् १९९० मा चिकित्सा क्षेत्रको नोबेल पुरस्कार प्रदान गरियो। सन् १९५४ मा डा मुरेले सुरु गरेको मिर्गौला प्रत्यारोपण नै हाल मिर्गौला रोगको प्रमुख उपचार बनेको छ।
निरा र बेलकुमारी : जसले मिर्गौला साटासाट गरेर बचाए श्रीमानको ज्यान (भिडिओ)
विश्वमा मिर्गौला प्रत्यारोपण सुरु भएको ५४ वर्षपछि नेपालमा सुरु भयो। सन् २००८ मा त्रिवि शिक्षण अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण गरियो।
त्यसपछि वीर अस्पताल र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सुरु गरियो। हाल देशभर निजी र सरकारी गरी १३ वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिन्छ। बिग्रेको मिर्गौलाबाट काम चलाउन डायलासिस गरिन्छ।
के हो मिर्गौला रोग?
मानिसको शरीरमा दुई वटा मिर्गौला हुन्छन्। पेटको पछाडि मेरुदण्डको दुवै छेउमा हुने मिर्गौला १५० देखि १७० ग्रामको हुन्छ। मिर्गौलाले शरीरमा रहेका विकार पदार्थ र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीर बाहिर पठाउने काम गर्छ।
चारदेखि पाँच इन्च लामो मिर्गौलाले शरीरमा तरल पदार्थको स्तरलाई सन्तुलनमा राख्ने, रगतबाट फोहोर र विषाक्त पदार्थ फिल्टर गर्ने, रक्तचाप नियन्त्रण गर्ने र हड्डीलाई स्वस्थ राख्न ‘भिटामिन डी’ सक्रिय राख्ने काम गर्छ। यस्तै रगतमा खनिज पदार्थ सोडियम, फस्फोरस, पोटासियमलाई सन्तुलनमा राख्ने काम गर्ने मिर्गौलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने काम गर्छ।
मिर्गौलाको प्रमुख काम शरीरमा रहेको विषाक्त पदार्थलाई फिल्टर गरी पिसाबसँगै बाहिर निकाल्ने हो। तर, जब मिर्गौलाले रगतमा भएको विषाक्तलाई फिल्टर गर्न सक्दैन, तब मिर्गौला फेल हुने सम्भावना उच्च हुन्छ।
चिकित्सकका अनुसार मधुमेह, उच्च रक्तचाप, मोटोपन र नियमित रूपमा दुखाइ कम गर्ने औषधि सेवन गर्ने व्यक्तिमा मिर्गौला फेल हुने जोखिम बढी हुन्छ। त्यस्तै परिवारमा कसैलाई मिर्गौलासम्बन्धी समस्या छ भने परिवारका अन्य सदस्यलाई मिर्गौला फेल हुने सम्भावना हुन्छ।
वंशानुगत, खानपान र जीवनशैलीका कारण देखिने मिर्गौला रोग विश्वका ८५ करोड व्यक्तिमा देखिएको छ। प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस क्रोनिक किड्नी डिजिजले ग्रसित थिए। यो संख्या बढेर ८५ करोड पुगेको छ।
मिर्गौला रोगलाई नसर्ने रोगहरूबाट मृत्यु हुने कारणमध्ये ७ औँ नम्बरमा राखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरको जनसंख्याको १० प्रतिशत व्यक्तिमा मिर्गौला रोग देखिने गरेको छ।
मिर्गौला रोग विशेषज्ञ डा रविकिरण गौतमका अनुसार मिर्गौलामा समस्या भएको सुरुवाती चरणमा थाहा हुँदैन। मिर्गौलाले काम गर्न छाडेपछि मात्र यसका लक्षणहरू देखिने गर्छ। रक्तचाप उच्च हुने, अत्यधिक थकान महसुस हुने, निद्रा नलाग्ने, खुट्टा वा पैताला सुन्निने, वाकवाकी लाग्ने, वान्ता हुने, भोक कम लाग्ने, तौल कम हुँदै जाने, मांसपेशी बाउँडिने र धेरै वा कम पिसाब लाग्ने जस्ता लक्षणहरू देखिने गरेको छ।
डा गौतमका अनुसार नियमित रूपमा हिँडडुल गर्ने, साइक्लिङ गर्ने तथा सन्तुलित आहार सेवन गर्ने र उच्च रक्तचाप तथा मधुमेह नियन्त्रण गर्दा मिर्गौला रोगबाट बच्न सकिन्छ। यस्तै प्रशोधित खाना नखाने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ। मधुमेह भएका व्यक्तिमा मिर्गौलामा समस्या देखिने सम्भावना उच्च हुने हुँदा मधुमेह नियन्त्रणमा राख्ने र रगत तथा पिसाबको नियमित परीक्षण गर्ने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ।
मिर्गौला रोगको बारेमा जनचेतना फैलाउन र यसबाट बच्ने उपाय सिकाउन सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन थालिएको छ। हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिएको छ।
मिर्गौला रोगीले किन गर्नुपर्छ डायलासिस?
सामान्यतया मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि मिर्गौलामा भएको विकार मेसिनको सहायताले निकालेर सफा गर्ने पद्धति नै डायलासिस हो। जब मिर्गौला फेल हुन्छ शरीरमा फोहोर पदार्थहरू जम्मा हुन थाल्छन्। जसलाई डायलासिसले हटाउने काम गर्छ।
डायलासिसले मिर्गौलाले काम गर्न नसक्दा शरीरबाट विषाक्त पदार्थ, अतिरिक्त पानी, र अनावश्यक पदार्थहरू हटाउन मद्दत गर्छ। यसमा फिल्टर तथा मेसिनको मद्दतले रगतलाई शुद्ध बनाउने गरिन्छ।
डायलासिसको अवधारणा सन् १८५४ मा स्कटिस वैज्ञानिक थोमस ग्राहमले प्रस्तुत गरेका थिए। जसकारण उनलाई ‘डायलासिसको पिता’ भनेर चिनिन्छ।
सन् १९१३ मा अबेल, रोउन्ट्री र टर्नर नामक तीन वैज्ञानिकहरूले पहिलो पटक जनावरहरूमा डायलासिस परीक्षण गरेका थिए।
जर्ज हासले सन् १९२४ मा पहिलो पटक मानिसमा डायलासिसको प्रयोग गरेका थिए। तर त्यो पूर्ण रूपमा प्रभावकारी भने भएन।
सन् १९४३ मा नेदरल्यान्ड्सका चिकित्सक विलेम कोल्फले पहिलो ‘कृत्रिम मिर्गौला’ मेसिन बनाए। डा विलेमले बनाएको मेसिन नै हाल संसारभर मिर्गौला रोगीको डायलासिसका लागि प्रयोग गरिन्छ।
सन् १९४५ मा मेसिनले पहिलो पटक सफल डायलासिस गरेको थियो। यो मेसिन ‘डायलाइजर सेलुलोज ट्युब’ प्रयोग गरेर बनाइएको थियो।
सन् १९५० पछि हेमोडायलाइसिस मेसिनलाई सुधार गर्दै लगियो र नियमित रूपमा प्रयोग गर्न सकिने बनाइयो।
हेमोडायलाइसिसले मेसिनको उपयोगद्वारा रगतमा भएको विषाक्त पदार्थलाई हटाउने हुँदा यसलाई कहिलेकाहीँ ‘कृत्रिम मिर्गौला’ पनि भन्ने गरिन्छ।
हाल डायलासिस मेसिन परिमार्जन भएर आएको छ। बिरामीले घरमै बसेर गर्न सकिने ‘पेरिटोनियल डायलाइसिस’ प्रविधि विकास भएको छ। यसले रगतलाई फिल्टर गर्नको लागि पेटभित्र रहेको ‘पेरिटोनियल’ झिल्लीको प्रयोग गर्छ।
पेरिटोनियल डायलाइसिसमा पेटमा प्लास्टिकको ट्युब (क्याथेटर) राखिन्छ। क्याथेटरमार्फत पेटमा दुई लिटर ग्लुकोज पानी भरिन्छ। यसलाई ‘पेरिटोनियल डायलाइसिस फ्लुड’ भनिन्छ। पेटमा सो पानीमा फोहोर पदार्थ छानिएर आउँछ र निकालिन्छ। पेरिटोनियल डायलाइसिस घरमै आफैँले गर्न सकिन्छ।
बिग्रिएको मिर्गौलालाई डायलासिसले स्वस्थ राख्ने काम गर्छ। तर, लामो समयसम्म डायलासिस गर्दा बिरामीलाई कमजोर बनाउन थाल्छ। प्रत्यारोपण गर्न सकिएन भने बिरामीको मृत्यु समेत हुन्छ।
Shares

प्रतिक्रिया