जीवनशैली


मस्तिष्क मृत्युपछि अंगदान : नेपालमा किन हुन सकेन विस्तार (भिडिओ)


प्रज्ञा तिम्सिना
चैत २८ , काठमाडौँ

मस्तिष्कको कार्यक्षमता पूर्ण रूपमा फेरि नफर्किने गरी बन्द हुनु मस्तिष्क मृत्यु हो। मस्तिष्क मृत्यु हुने प्रमुख कारण हो सडक दुर्घटना। यस्तै, रुखबाट लडेर वा कुनै कारणले टाउकोमा गम्भीर चोट लागेमा मस्तिष्कको मृत्यु हुन सक्छ भने मस्तिष्काघात अर्थात् ‘स्ट्रोक’ हुँदा पनि मस्तिष्क मृत्यु हुन्छ।

उच्च रक्तचापका कारण रगतको नसा फुटेर मस्तिष्काघात हुँदा, मस्तिष्कमा चोट लागेर यसको कार्यक्षमतामा कमी आउँदा वा औषधि उपचार असफल हुँदा पनि मस्तिष्क मृत्यु हुन्छ।

तर मस्तिष्कले गर्ने सम्पूर्ण काम बन्द भए पनि शरीरका अन्य अंगले केही समय काम गरिरहेका हुन्छन्। मस्तिष्कले काम नगरेको, तर अन्य अंगले काम गरिरहेको अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ।

चिकित्सकले मस्तिष्क मृत्यु भएको हो कि होइन, प्रमाणित गर्न परीक्षण गर्छन्। मस्तिष्क मृत्यु भएको शंका लागेपछि चिकित्सकले धेरै खालका परीक्षण गरेर अब मस्तिष्कले पूर्ण रूपमा काम गर्न सक्दैन भनेर एकिन गर्छन्।

सम्पूर्ण कुरा परीक्षण गरेपछि कुनै पनि हालतमा मस्तिष्क फर्किन सक्दैन भनेर विशेषज्ञ चिकित्सकहरूले एकिन गरेर मात्रै मस्तिष्क मृत्यु भनेर प्रमाणित गरिन्छ।

तर, त्यसपछि पनि मिर्गौला, फोक्सो, कलेजोसहित अन्य अंगहरू चलिरहेका हुन्छन्। शरीरका अन्य महत्वपूर्ण अंगहरू मुटु, कलेजो, मिर्गौला, फोक्सो, प्यान्क्रियाज र सानो आन्द्रा केही समयका लागि जीवितै रहन्छन्।

सो समय ती अंग अर्को व्यक्तिमा प्रत्यारोपण गरी नयाँ जीवन दिन सकिन्छ। नेपालमा कानुनी रूपमा नै मस्तिष्क मृत्युपछि तत्काल अंग झिकेर प्रत्यारोपण गर्न मिल्छ।

नेपालमा अंग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले गरेको छ।

तथापि, मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आफू जीवितै हुँदा अंगदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपछि निजको शरीरबाट अंगदान गर्न मञ्जुरी दिएको अवस्थामा मात्र प्रत्यारोपण गर्न सकिने व्यवस्था छ।

नियमावली अनुसार चिकित्सकले मस्तिष्क मृत्युको घोषणा भएपछि परिवारको सहमतिमा अंग (मिर्गौला, कलेजो, मुटु आदि) निकालेर आवश्यक बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ।

चिकित्सकले मस्तिष्क मृत्युको आधिकारिक घोषणा गर्नुपर्छ।

मस्तिष्क मृत्युपछि अंगदानबाट गरिने प्रत्यारोपणका लागि शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई समन्वय एकाइ तोकिएको छ। सडक दुर्घटना वा अन्य कारणले मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवारले अंगदान गर्न स्वीकृति दिए समन्वय एकाइमा खबर गर्नुपर्छ। मानव अंग प्रत्यारोपण केन्द्रका चिकित्सक सम्बन्धित अस्पतालमा पुगेर अंग निकालेर आवश्यक बिरामीमा प्रत्यारोपण गर्छन्।

कानुनी व्यवस्थापछि २०७४ साल वैशाख २८ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला प्रत्यारोपण गरेको थियो। केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला निकालेर सुनसरीका ५१ वर्षीय पुरुष र काठमाडौँका १५ वर्षीय बालकमा प्रत्यारोपण गरेको थियो।

ऐन बनेको १० वर्षमा ७ जनाको मात्र मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गरिएको छ। सरकारले अंगदानलाई प्रभावकारी बनाउन मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपणका लागि उपलब्ध गराउने परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

मानव शरीरका ८ वटा अंग प्रत्यारोपण हुन सक्ने भए पनि नेपालमा मिर्गौला र कलेजो मात्र प्रत्यारोपण हुन्छ। नेपालमा जनचेतनाको अभावका कारण मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान हुन नसकेको चिकित्सकहरू बताउँछन्।

मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग अन्यमा कसरी प्रत्यारोपण गरिन्छ? नेपालमा मस्तिष्क मृत्यु भएकाहरूको अंगदान किन न्यून छ भन्ने विषयमा अंगदान फाउन्डेसनका संस्थापक अध्यक्ष एवं कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा प्रदीप सापकोटाको भिडिओ ब्रिफिङ :

चैत २८, २०८२ शनिबार ७:४७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad