समाज


निरा र बेलकुमारी : जसले मिर्गौला साटासाट गरेर बचाए श्रीमानको ज्यान (भिडिओ)

परिवारको मिर्गौला नमिल्दा हैरान राजेन्द्र र सुनीललाई पेयर्ड एक्स्चेन्ज प्रत्यारोपणले दिएको त्राण

प्रज्ञा तिम्सिना
साउन १४ , काठमाडौँ

हप्तामा तीन दिन अस्पतालदेखि घर, घरदेखि अस्पताल। 

चर्को घाममा पनि टन्न आँत मर्ने गरी पानी खान नपाउँदाको पीडा। त्यसमाथि हातका नसा छेडिएको दुखाइ। काठमाडौँ, बल्खुका ५५ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको दैनिकी नरकतूल्य थियो। 

चार वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोडेपछि अस्पताल धाउँदाधाउँदै उनी हैरान थिए। परिवारमा कसैको मिर्गौला मिलेन, बाहिर कतै पाइएन। उनी जिन्दगीदेखि निराश हुन थालिसकेका थिए। 

तर, अहिले उनका आँखामा खुसी झल्किरहेको छ।

किनकि एक साताअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको छ। अब उनी चारवर्षसम्म डायलासिस गराउँदाको पीडा भुल्न चाहन्छन्। प्रत्यारोपणपछि पहिलोपटक चिकित्सकलाई भेट्न आएका राजेन्द्रमा पुरानै जोस, जाँगर र आत्मविश्वास फर्किएको छ। 

र, यो जीवनदान दिलाएको हो– मिर्गौला साटासाट अर्थात् पेयर्ड एक्स्चेन्जले। उनको शरीरमा सप्तरीकी ४१ वर्षीया निराकुमारी साहको मिर्गौला राखिएको छ। 

राजेन्द्र र निराका श्रीमान् सुनील दुवैको मिर्गौला फेल भएको थियो। राजेन्द्रसँग सुनीलकी श्रीमती निराको र सुनीलसँग राजेन्द्रकी श्रीमती बेलकुमारको मिर्गौला मिल्यो। अनि पेयर्ड एक्स्चेन्ज प्रत्यारोपण सम्भव भयो।  

यसरी भयो साटासाट
४ वर्षअघि दुवै मिर्गौला फेल भएका राजेन्द्र सुरुमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुगे। चिकित्सकले परिवारको सदस्य कसैको मिर्गौला मिल्छ कि भनेर परीक्षण गरे। तर, श्रीमती बेलकुमारी श्रेष्ठको रक्तसमूह ‘ए पोजिटिभ’ देखियो। राजेन्द्रको रगतको समूह ‘बी पोजिटिभ’। 

श्रीमतीसँग रक्तसमूह नमिलेपछि राजेन्द्रले श्रीमतीको मिर्गौला राख्न नपाउने भए। राजेन्द्रसँग छोराछोरीको मिर्गौला पनि मिलेन। परिवारका कुनै सदस्यको मिर्गौला नमिले पनि चिकित्सकले उनलाई मिर्गौलाको साटासाट (पेयर्ड एक्स्चेन्ज) गर्न सकिने सुझाव दिए। त्यसपछि अस्पतालमा मिर्गौला फेल भएर दान गर्न नमिलेर आउने कुनै व्यक्तिसँग आफनो मिर्गौला मिल्छ कि भनेर उनी कुरेर डायलासिस गराउँदै बसे।

संयोगले मिर्गौला मिल्ने व्यक्ति फेला परे। ती व्यक्तिलाई पनि बेलकुमारीको मिर्गौला म्याच भयो। राजेन्द्रको परिवार खुसी थियो। तर, प्रक्रिया पूरा गर्न र म्याच मिलाउन एक वर्ष लाग्यो। त्यतिञ्जेलसम्ममा मिर्गौला प्रत्यारोपण हुने अर्को व्यक्तिको   फोक्सोमा पानी जम्यो। पानी हटाउन तीन महिना लाग्यो। शरीरमा रगत कमीका कारण प्रत्यारोपण गर्न नमिल्ने भयो। 

उनको खुसी टिक्न पाएन।

राजेन्द्र दुई वर्षसम्म भक्तपुर अस्पताल धाए। तर, प्रत्यारोपण गर्न मिल्ने मिर्गौला पाएनन्।  

त्यसपछि उनी भारततिर लागे। लखनऊ गएर चार महिना बसे। उतै डायलासिस गराउन थाले। त्यहाँ पनि  उनले प्रत्यारोपण गराउन मिर्गौला दिने व्यक्ति पाएनन्। त्यहाँबाट उनी कलकत्ता पुगे। कलकत्तामा पनि ७ महिना बसे। मिर्गौला प्रत्यारोपण गराउन पाएनन्। राजेन्द्रको मुटुमा पानी जमेपछि प्रत्यारोपण गराउन सकिएन। 

नेपाल फर्किएपछि उनी काठमाडौँको स्टार अस्पतालमा गएर डायलासिस गराउन थाले। मेडिसिटी अस्पतालमा पेयर्ड एक्स्चेन्ज हुन्छ भन्ने थाहा पाएर उनी त्यहाँ गए।  मेडिसिटीमै उनको भेट भयो सुनीलसँग। जो दुई वर्षदेखि मिर्गौला मिल्ने व्यक्ति खोजिरहेका थिए। कुरा र मिर्गौला मिलेपछि १ महिनामै मिर्गौला साटासाट भयो।

एक हप्ताको अस्पतालको बसाइपछि डिस्चार्ज भएका उनी आफैँ हिँडेर फलोअपका लागि आए।

उनी श्रीमती बेलकुमारी श्रीमानको मायाले जसलाई पनि मिर्गौला दिन्छु भनेर निर्णय गरेको बताउँछिन्। 

‘श्रीमानको रगत ‘ए पोजिटिभ’ भएपछि मेरो मिर्गौला दिन मिलेन। अर्को मिर्गौला फेल भएको व्यक्तिसँग साटासाट गरेर पनि श्रीमानलाई बचाउँछु भन्ने निर्णय गरेँ,’ उनी सुनाउँछिन्, ‘मिर्गौला बिग्रिएपछि श्रीमानलाई भएको गाह्रो हेर्न सकिनँ। उहाँलाई भएको पीडा देख्न सकिनँ, छोराछोरी कसैसँग पनि मिर्गौला मिलेन, अनि बरु अरुसँग साटेर पनि पीडा कम गराउन चाहन्थेँ।’

सुनीलकुमारले पाए नयाँ जीवन
सप्तरीमा २ वर्षदेखि डायलासिस गर्न थालेका सुनीलको १२ वर्षदेखि मिर्गौलामा समस्या देखिएको थियो। उनको मिर्गौलामा पथरी थियो। त्यसको उपचार गर्न उनी भारतको चण्डिगढस्थित पीजीआई पुगेका थिए। त्यतिबेलै सुनीलको क्रियाटिन बढेको थियो। औषधि खान थाले। क्रियाटिन कम हुँदै गयो। 

२ वर्षअघि भने उनको दुवै मिर्गौला फेल भयो। उपचारका लागि उनी दिल्लीको एम्स अस्पताल पुगे। त्यहाँ चिकित्सकले मिर्गौला फेल भएको र डायलासिस अनि प्रत्यारोपण गराउनु पर्ने बताए। सुनीलकी श्रीमती निरा मिर्गाैला दिन तयार भइन्। तर, सुनीलको रगत ‘ए पोजेटिभ’ थियो। निराको ‘बी पोजेटिभ’। रगत समूह नमिलेपछि प्रत्यारोपण गराउन मिलेन। 

दिल्लीमा बसेर डायलासिस गराउन खर्च धेरै लाग्ने भए पछि सुनील नेपाल फर्किए। विराटनगरमा डायलासिसका लागि जान थाले। सप्तरी बस्ने सुनील हप्तामा तीन पटकसम्म डायलासिस गराउनु जानु पथ्र्यो। उनी ९२ किलोमिटर छिचोलेर विराटनगर पुग्थे।

पछिल्लो समय उनमा फिस्टुलाको समस्या देखिएपछि उपचारका लागि काठमाडौँ आए। उपचारका क्रममा उनको भेट राजेन्द्रसँग भयो।

आफू जस्तै मिर्गौलाको खोजीका रहेको व्यक्ति पाउँदा खुसीको सीमा नै रहेन।

‘काठमाडौँ भगवानले नै पठाएको जस्तो लाग्यो,’ सुनील हाँस्दै सुनाउँछन्, ‘मिर्गौला पाउने भएपछि निकै खुसी भएँ। आफू बिरामी हुँदा घर परिवार नै लथालिंग भएको थियो। छोराछोरीको पढाइ बिग्रिएको थियो। आम्दानीको स्रोत कम हुँदै जान थालेको थियो। पेयर्ड एक्स्चेन्जबाट मिर्गौला पाउने भएँ भने पछि मेरो खुसीको सीमै रहेन।’

सुनील आफ्नी श्रीमतीले आफूलाई जीवन दान दिएर ठूलो गुन लगाएको बताउँछन्। 

सुनीलकी श्रीमती निराकुमारी साह परिवारमा कमाउने कोही नभएपछि श्रीमानलाई जसरी पनि बचाउन यो निर्णय गरेको बताउँछिन्। 

‘बजारमा नपाउने, पैसा तिरेर पनि किन्न नपाउने। परिवारका कोही सदस्यसँग नमिल्ने भएपछि बरु अरुसँग साटेर पनि मिर्गौला दान गर्नेमा पुगेँ,’ उनले भनिन्। 

२ साताअघि मेडिसिटी अस्पतालमा मिर्गौला साटासाट गरेर नयाँ जीवन पाएका सुनील र राजेन्द्रको दैनिकी फेरिएको छ। तराईका सुनील र काठमाडौँका राजेन्द्रको परिवार जोडिएको छ। 

सुनील र राजेन्द्रजस्तै ५९ जनाले पेयर्ड एक्स्चेन्जबाट जीवनदान पाइसकेका छन्। यो सेवा २०७३ मा भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रबाट सुरु भएको हो। पेयर्ड एक्स्चेन्ज सरकारीमा सहिद धर्मभक्त र त्रिवि शिक्षण अस्पताल तथा निजीमा मेडिसिटी अस्पतालले गरिरहेका छन्। 

के हो पेयर्ड एक्स्चेन्ज प्रत्यारोपण?
दुई व्यक्तिमा मिर्गौलाले काम गरेन भने दुई परिवारबीच मिर्गौला साटासाट गरेर प्रत्यारोपण गराउनुलाई चिकित्सकीय भाषामा पेयर्ड एक्स्चेन्ज प्रत्यारोपण भनिन्छ। 

मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा रविकिरण गौतम भन्छन्, ‘मिर्गौला फेल भएको व्यक्ति र परिवारका सदस्यबीच रक्त समूह नमिने भए उस्तै प्रकारको समस्या भएको व्यक्ति खोजी गरेर उनीहरूको परिवारबीच मिर्गौला मिलाएर साटासाट गरी प्रत्यारोपण गर्ने प्रक्रिया हो यो।’

सरकारले ल्याएको मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली अनुसार रक्त समूह मिल्ने र आफनो नाताभित्र पर्ने व्यक्तिले मिर्गौला दान गर्न पाउँछन्। तर, कहिलेकाहीँ आफनो नाताभित्र रक्त समूह मिलेन भने सो अवस्थामा मिर्गौला साटासाट गरेर प्रत्यारोपण गराउन सकिने व्यवस्था गरिएको छ। 

सरकारले अंग प्रत्यारोपण सुरु गर्न २०५५ सालमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन ल्याएको थियो। जसअनुसार अनुसार सन् २००८ मा त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु भएको थियो। 

पहिले परिवारका सदस्यभित्र मात्र मिर्गौला दान गर्न पाउने कानुनी प्रावधान थियो। जसका कारण धेरै व्यक्ति मिर्गौला प्रत्यारोपण गराउन नपाएपछि सरकारले २०७३ सालमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली ल्याएर रक्त समूह नमिल्दा पनि मिर्गौला साटासाट गर्न मिल्ने (पेयर्ड किड्नी एक्स्चेन्ज) गर्न सकिने नियम ल्यायो। त्यसअनुसार पहिलोपटक २०७३ सालमा भक्तपुरस्थित सहिद धर्मभक्त तथा मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला साटासाट प्रत्यारोपण सुरु गरेको थियो। केन्द्रले हालसम्म ५९ जनाको पेयर्ड एक्स्चेन्ज प्रत्यारोपण गरिसकेको छ। 

पहिलो मिर्गौला साटासाट प्रत्यारोपण 
२०७३ मा ताप्लेजुङको फूलबारीका ४९ वर्षीय खेमराज निरौला र गोरखाको मनकामनाका ४० वर्षीय विष्णुबाबु श्रेष्ठले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा पहिलोपटक पेयर्ड एन्चेन्ज प्रत्यारोपण भएको थियो।  

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार निरौलाले श्रेष्ठकी जेठी बहिनी ५२ वर्षीया माया थापाबाट मिर्गौला लिएका थिए भने श्रेष्ठले निरौलाकी श्रीमती मातृकादेवी चापागाईंबाट मिर्गौला लिएकी थिए।

‘सन् २०१५ मा अंग प्रत्यारोपण ऐन १९९८ को संशोधनपछि यो सम्भव भएको हो,’ डा श्रेष्ठले भने, ‘नेपालमा यस्ता प्रत्यारोपणहरू गैरकानुनी मानिन्थ्यो, जसले गर्दा धेरै बिरामीहरू उपचारको लागि भारत जान बाध्य थिए।’ 

पेयर्ड एक्स्चेन्ज प्रत्यारोपणले गैरनातेदार व्यक्तिमा पनि प्रत्यारोपण सम्भव बनाएको डा पुकार बताउँछन्। 

‘नेपालको संविधानले अंग प्रत्यारोपणसँग सम्बन्धित काननलाई परिमार्जन गरेका कारण परिवारको सदस्यले पति, पत्नी, दाजुभाइ, दिदीबहिनी, मामाघरका आफन्त, ससुरा, आफन्त, सौतेनी बुबा, आमा, हजुरबुबा वा परिवारका अन्य सदस्यहरूलाई मिर्गौला दान गर्न सक्छ। यदि मिर्गौला मेल खाएन भने आपसी समझदारीबाट अन्य परिवारसँग मिर्गौला साट्न सकिन्छ। यो प्रावधानले धेरै व्यक्तिले नयाँ जीवन पाएका छन्,’ डा पुकार भन्छन्।

उनले पेयर्ड एक्स्चेन्ज प्रत्यारोपण गराउन भौतिक पूर्वाधार र जनशक्ति धेरै चाहिने हुँदा सबैतिर सुरु हुन नसकेको बताए।

‘एकैपटक ४ जनालाई सँगै शल्यक्रिया कक्षमा लगेर प्रत्यारोपण गर्नुपर्छ। जसका लागि चिकित्सकको टोली पनि ४ वटा र शल्यक्रिया पनि ४ वटा नै चाहिन्छ। त्यो सुविधा भएको अस्पतालमा मात्र गर्न सकिन्छ। जसका कारण सबै अस्पतालले सुरु गराउन सकेका छैनन्,’ उनले भने।

त्रिवि शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा दिव्या शाह रक्त समूह नमिलेको व्यक्तिमा पनि मिर्गौला प्रत्यारोपण सम्भव भएको बताउँछिन्। 

‘त्रिवि शिक्षण अस्पतालले परिवारका सदस्यमा रक्त समूह फरक भएका व्यक्तिमा पनि मिर्गौला प्रत्यारोपण गरिसकेका छौँ। तर पेयर्ड एक्स्चेन्जभन्दा केही महँगो भएकाले धेरै व्यक्तिमा गराउन सकिएको छैन,’ उनले भनिन् ‘महँगो भएकाले बिरामीलाई हामीले पेयर्ड एक्स्चेन्ज गर्न नै सुझाव दिने गरेका छौँ।’

हेर्नुहोस् भिडिओ

साउन १३, २०८२ मंगलबार २१:५१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad