बाजुराकी ३० वर्षीया अस्मिता शाही (नाम परिवर्तन) को विवाह भएको ७ वर्षसम्म पनि बच्चा भएन। २३ वर्षको उमेरमा विवाह गरेकी अस्मिताको लामो समयसम्म पनि सन्तान नभएपछि परिवारले मानसिक तनाव दिन थाल्यो। अस्मिता आफ्नै कारणले नै सन्तान नभएको सोच्थिन्।
नजिकैको स्वास्थ्य संस्थामा देखाइन्, तर गर्भ रहन सकेन।
परिवारको दबाबका कारण उनलाई मानसिक समस्या बढ्न थाल्यो। बच्चा जन्माउन नसकेको भन्दै उनी घरेलु हिंसामा समेत परिन्। घर नजिकैकी एक स्वास्थ्य स्वयंसेविकाले काठमाडौं गएर उपचार गराउन सल्लाह दिइन्। अस्मिता श्रीमान् लिएर काठमाडौं उपचार गर्न आइन्।
परीक्षण गर्दा समस्या अस्मिताको श्रीमानमा देखियो। चिकित्सकले शुक्रकीटको मात्रा कम भएकाले सन्तान नभएको बताए। लामो समय आफ्नै कारणले सन्तान नभएको भनेर मानसिक तनाव खेपिरहेकी अस्मिताले पहिलो पटक पुरुषका कारण पनि सन्तान नहुने रहेछ भनेर थाहा पाइन्।
चिकित्सकले उपचार गरेर शुक्रकीटको मात्रा बढाउन सकिने जनाए। आईभीएफमार्फत सन्तान जन्माउन सल्लाह दिए।
नेपालगन्ज घर भएकी पूजा रोकाया (नाम परिवर्तन) को महिनावारी नियमित नहुने समस्या देखिन थाल्यो। १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी पूजाको महिनावारी १६ वर्षदेखि नै नियमित हुन छाडेको थियो। ३–४ महिनामा एक पटक मात्र महिनावारी हुन्थ्यो। पूजाको तौल अनावश्यक रूपमा बढिरहेको थियो। सामान्य नै होला भनेर उनी उपचार गराउन गइनन्।
२४ वर्षको उमेरमा विवाह भएपछि २ वर्षसम्म पनि सन्तान भएन। पूजा आमा बन्न चाहिन्, तर बच्चा बस्न सकेन। लामो समयसम्म प्रयास गर्दा पनि सन्तान नबस्दा मानसिक तनाव हुन थाल्यो। परीक्षण गर्दा चिकित्सकले उनलाई पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) का कारण सन्तान नभएको बताए।
विश्वभर नै बाँझोपनको समस्या डरलाग्दो गरी बढिरहेको छ। जीवनशैली, ढिलो विवाह, पीसीओएस समस्या लगायतका कारण बाँझोपन बढिरहेको छ। महिला र पुरुष दुवैका कारण बाँझोपन देखिने चिकित्सक बताउँछन्।
वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा अचला वैद्यका अनुसार विवाहपछि महिला वा पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी करिब १ वर्षसम्म यौन सम्पर्क गर्दा पनि बच्चा नभए बाँझोपन भएको ठहर गरिन्छ।

‘बाँझोपन भनेको कुनै महिला वा पुरुषले १२ महिनासम्म गर्भनिरोधक साधन प्रयोग नगरीकनै नियमित रूपमा यौन सम्पर्क गर्दा पनि गर्भ नरहने समस्या हो,’ उनले भनिन्।
उनका अनुसार ८५ प्रतिशत दम्पतीमा विवाहको पहिलो वर्षमै बच्चा हुन्छ भने ७ प्रतिशतमा दोस्रो वर्षमा बच्चा हुने सम्भावना हुन्छ। तर सो अवधिमा बच्चा नभए बाँझोपनमा राख्न सकिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूचओ) का अनुसार विश्वमा हरेक ६ जनामा एक जनाले बाँझोपनको समस्या भोगिरहेका छन्। करिब १८ प्रतिशत वयष्क दम्पती बाँझोपनबाट प्रभावित छन्।
डा वैद्यका अनुसार बच्चा नहुनुमा महिला र पुरुष बराबर जिम्मेवार हुन्छन्। पुरुषमा शुक्रकीटको मात्रा कम हुने, उत्पादन शून्य हुने वा बनावटमा समस्या हुने कारण बाँझोपन देखिन्छ। महिलामा भने पीसीओएस, पाठेघरको मुख वा बनावटमा समस्या, ट्युब बन्द हुनु, अण्डा ननिस्कनु, हर्मोनल समस्या आदिका कारण बाँझोपन देखिन्छ।
चिकित्सकका अनुसार ४० वर्षपछि पुरुषमा शुक्रकीटको संख्यामा कमी आउन थाल्छ। महिलामा महिनावारी गडबडी, डिम्बवाहिनी नली बन्द हुनु, पाठेघरमा ट्युमर (पोलिप, फाइब्रोइड) देखिनु आदि कारणले पनि बच्चा बस्न दिँदैन।
ढिलो विवाह पनि बाँझोपनको कारण हो। महिलाको उमेर बढ्दै जाँदा डिम्ब कम हुँदै जान्छ।
‘३५ वर्षमाथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपन देखापर्छ,’ डा वैद्य बताउँछिन्।
बारम्बार गर्भपतन गराउँदा पाठेघर पातलो हुन जान्छ वा भित्ताहरू टाँसिन जान्छन्। जसका कारण गर्भ नरहने समस्या देखिन्छ।
बाँझोपनको समस्या किन देखिन्छ? कसरी पहिचान गर्ने? कस्तो जीवनशैली अपनाउनुपर्छ भनेर वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा अचला वैद्यको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया