इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीले पदभार ग्रहण गरेपछि बिहीबार आफ्नो पहिलो वक्तव्य जारी गरेका छन्।
त्यसमा उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा बन्द गर्न अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, ‘नत्र आक्रमण जारी रहनेछ।’
मोज्तबाले अमेरिका र इजरायललाई इरानमा गरेको आक्रमणको क्षतिपूर्ति दिन पनि चेतावनी दिएका छन्।
इरानको सरकारी टीभीमा ठुलो स्वरमा पढिएको सन्देशमा खामेनीले भने, ‘वर्तमान परिस्थितिमा होर्मुज स्ट्रेट खोलिने छैन।’
अमेरिका, इजरायल र इरानबिचको युद्ध तीव्र हुँदै गएका बेला मोज्तबाको वक्तव्य आएको हो।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ।
यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया