मानिसको शरीरमा रहेका विकार र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीरबाहिर पठाउने अंग हो, मिर्गाैला। सिमीको गेडा आकारको प्रत्येक मिर्गौला चारदेखि पाँच इन्च लामो हुन्छ, जसमा एउटा अति नै सानो नेफ्रोन नामक फिल्टर हुन्छ। यही फिल्टरले रगतमा भएको विकार र बढी मात्रामा भएको पानीलाई छानेर बाहिर पठाउने काम गर्छ।
शरीरमा दुईवटा मिर्गौला हुन्छन्। मिर्गौला पेटको पछाडि मेरुदण्डको दुवै छेउमा हुन्छन्। बच्चा जन्मिँदा यसको आकार ५ सेन्टिमिटर हुन्छ भने वयस्क हुदा ९ देखि ११ सेन्टिमिटर लामो हुन्छ।
चिकित्सकहरूका अनुसार, मिर्गौलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने काम गर्छ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यमबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन राख्छ। रगतबाट फोहोर र विषाक्त पदार्थ छान्ने काम गर्छ। रक्तचाप नियन्त्रण गर्ने हर्मोन निकाल्छ। स्वस्थ हड्डीहरू कायम राख्न भिटामिन डीलाई सक्रिय पार्न। हर्मोन उत्पादनको काम पनि गर्छ।
मिर्गौलाले काम गर्न छाडेपछि शरीरमा यी प्रक्रिया रोकिन्छन्। मिर्गौलाले गर्ने यी धेरै काम रोकिएपछि मात्र समस्याबारे थाहा हुन्छ। शरीर सुन्निने, आँखावरिपरि सुन्निने, बान्ता आउने, जिउ चिलाउन थाल्नेजस्ता लक्षणले मिर्गौला फेल भएको संकेत गर्छन्।
मिर्गौला बिग्रनेबित्रिकै प्रत्यारोपणमा गराइहाल्नु भने पर्दैन। पत्थरी भएको छ भने पनि मिर्गौला बिग्रिन्छ। पत्थरीको तुरुन्त उपचार गर्दा मिर्गौला स्वस्थ बन्न सक्छ।
मिर्गौला सानो भइसक्यो, सुक्दै गयो भने मिर्गौला बिग्रिएको भनेर बुझिन्छ। मिर्गौलाले गर्ने काम सुचारु गर्ने उपाय डायलासिस र प्रत्यारोपण हुन्।
शरीरका फोहोरहरू मिर्गौलाले फाल्ने गर्छ। मिर्गौलाले काम गरेन भने डायलासिसबाट त्यो फोहोरलाई निकालिन्छ। प्रत्यारोपण नगरुन्जेल डायलासिसको माध्यमबाट मिर्गौैलालाई सुचारु राख्नुपर्ने हुन्छ।
शरीरको रगत बनाउने, क्याल्सियम र एसिडको लेभल मिलाउनेजस्ता काम भने डायलासिसबाट हुँदैन। त्यस्तो अवस्थामा प्रत्यारोपण गर्नुपर्छ।
त्यसका लागि नाताभित्र पर्ने र रगतको समूह मिल्नेसँग प्रत्यारोपण गराउन सकिन्छ।
कहाँ राखिन्छ नयाँ मिर्गौला?
प्रत्यारोपण गर्दा चिकित्सकले बिग्रिएको मिर्गौलालाई निकालेर फाल्दैनन्। प्रत्यारोपण गरेर राखिने नयाँ मिर्गौलालाई नयाँ ठाउँ बनाएर राखिन्छ। प्रत्यारोपण गरिएको मिर्गौलालाई पेटको तल्लो भागमा राखिन्छ। पहिला मिर्गौला भएको स्थानमा राखिँदैन।
चिकित्सकहरूका अनुसार, शरीरमा भएको मिर्गौलाले कुनै असर गर्दैन भने त्यो मिर्गौला निकालिँदैन। किनभने, सो मिर्गौला निकाल्नु पनि जोखिमयुक्त शल्यक्रिया हुन्छ।
मिर्गौलामा पत्थरी छ, सुनिएको छ र नयाँ राखिने मिर्गौलालाई असर गर्छ भने पुरानो निकाल्नुपर्ने हुन्छ।
मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले स्वस्थ जीवनशैली अपनाउनुपर्छ र जीवनभर औषधि खानुपर्छ। अन्य व्यक्तिको मिर्गौला आएपछि शरीरले प्रतिकार (रिजेक्ट) गर्न खोज्छ। आफ्नो अंग होइन भन्न थाल्छ। रिजेक्सन रोक्न तीनवटा औषधि जीवनभर नै खानुपर्छ।
प्रत्यारोपणपछि त्यो औषधिको भूमिका निकै बढी छ। औषधिको डोज बढी भयो वा कम भयो भने पनि शरीरले मिर्गौला रिजेक्ट गर्छ।
औषधिको सेवनले शरीरसँग मेल खाने बनाउँछ। प्रत्यारोपणपछि रोगसँग लड्ने क्षमता कम हुन्छ। जसकारण मिर्गौला संक्रमणको जोखिम बढी हुन्छ। स्वस्थ जीवन अपनाउने, औषधि सेवन गर्ने, चिकित्सकलाई देखाइरहने गर्दा ३० वर्षसम्म पनि प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्छ।
नयाँ राखेको मिर्गौला १ वर्षभित्र शरीरले अस्वीकार (रिजेक्सन) भयो भने निकाल्नुपर्छ। मिर्गौला दोस्रोपटकसम्म प्रत्यारोपण गर्न सकिन्छ। तेस्रो प्रत्यारोपण गर्दा राखिएको अघिल्लो मिर्गौला निकालेर फाल्नुपर्छ, जसका कारण प्रत्यारोपण जटिल हुन्छ।
मिर्गौला दान गर्ने व्यक्तिले पनि स्वस्थ जीवन अपनाउनुपर्छ। दुईवटा मिर्गौलाले गर्ने काम एउटाले गर्दा उसको बोझ बढेर उच्च रक्तचाप देखिने सम्भावना हुन्छ।
मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था र प्रत्यारोपणपछि खाल गर्नुपर्ने कुराबारे मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा रविकिरण गौतमको भिडियो ब्रिफिङ।

प्रतिक्रिया