कोसी प्रदेशसभामा सांसदहरूले विकास निर्माणका मुद्दालाई अघि सारेका छन्।
बुधबार प्रदेशसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले विकास निर्माण, लगानी सम्मेलन समयमा गर्न, सुरुङ मार्ग निर्माण र जंगली जनावरबाट हुने क्षति रोक्न माग राखेका छन्।
धनकुटाका सांसद इन्द्रमणी पराजुलीले फुस्रे-लेउती सुरुङ मार्ग बनाउने काममा लाग्न आग्रह गरे। संघीय सरकारसँग समन्वय गरेर धरानबाट धनकुटा पुग्न अहिले ३-४ घण्टा लाग्दै आएकोमा सुरुङ मार्ग भएर जम्मा १ घण्टामा पुग्न सकिने बताए। यसरी सुरुङ मार्ग बनाउँदा पूर्वीनेपालसँगको दुरी छोटिने दाबी गरे।
झापाका सांसद राधाकृष्ण खनालले झापाको गौरीगंज-१ को चौरी बजार दक्षिणतर्फको कोसी टप्पुका ११७ घर हरेक वर्ष बाढीको उच्च जोखिममा हुने गरेको बताए। कनकाई, कमल र बनियानी नदीले चारैतर्फ घेरेकोले कोसीटप्पु हरेक वर्ष जोखिममा पर्ने गरेकोले आवतजावतको लागि पुल निर्माण गरिदिन सरकारलाई आग्रह गरे।
स्वास्थ्य बिमामा समस्या
मोरङका प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए।
स्वास्थ्य सेवा लिनको लागि रेफरल प्रावधानले गर्दा नागरिकलाई निक्कै झन्झटिलो रहेकोले त्यस्ता झन्झट अन्त्य गर्न माग गरे। अस्पतालहरूले बिमा सुविधा लिने नागरिकलाई दोस्रो तहको व्यवहार गर्ने गरिएको आरोप लगाए।
सांसद मिना श्रेष्ठले माघ ११,१२ र १३ गतेलाई तय भएको लगानी सम्मेलन सारिएकोमा असन्तुष्टि जनाइन्। दुई महिनादेखि लगानी गर्नको लागि अमेरिका, बेलायत, कोरिया तथा चीन लगायत देशबाट आएका लगानीकर्ताहरू लगानी सम्मेलन नहुँदा निराश भएको श्रेष्ठले बताइन्।
सांसद निरादेवी खनालले लगानी सम्मेलनको तयारी, पर्यटनको वर्षको सफल तयारी, आयोजनाको समयमा नै सम्पन्न गर्नुपर्ने चुनौती सरकारसँग रहेको बताइन्। सांस्कृतिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारलाई भूमिका खेल्न समेत आग्रह गरिन्।
Shares

प्रतिक्रिया