कोशी


विराटनगरमा एमालेको सुझाव संकलन: ओलीको निर्देशन विपरीत शिरबाटै पार्टी पुनर्गठनको माग

विराटनगरमा एमालेको सुझाव संकलन: ओलीको निर्देशन विपरीत शिरबाटै पार्टी पुनर्गठनको माग

नेपालखबर
असार २, २०८३ मंगलबार २०:२६, काठमाडौँ

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रममा पार्टी नेतृत्व र कार्यकर्ताहरू बिच स्पष्ट वैचारिक मतभेद देखिएको छ।

नेकपा एमाले केन्द्रीय कमिटीद्वारा विराटनगरमा आयोजित कार्यक्रमको सुरुवातमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन भएको तीन महिना पनि नहुँदै अध्यक्ष परिवर्तनका विषयमा छलफल नगर्न कडा निर्देशन दिएका थिए।

अध्यक्ष ओलीले निर्वाचनका बेला कमिटीहरू किन चलेनन् र कार्यकर्तासँगको सम्बन्ध किन बिग्रियो भन्ने विषयमा मात्र समीक्षा गर्न आग्रह गरेका थिए। उनले विपक्षीहरूले डर र त्रास देखाएर सत्ता कब्जा गरेको आरोप लगाउँदै अहिलेको चुनौतीपूर्ण अवस्थामा घरझगडा र दोषारोपण गरेर भाग्ने नभई पार्टी एकढिक्का भएर जनतामाझ जानुपर्नेमा जोड दिए।

मिडियामा आएका अध्यक्ष हटाउने कुराहरू एमालेको नीति र विधि विपरीत भएको भन्दै उनले यस्ता विषयमा दन्तबझान नगर्न सचेत गराए।

अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको बहस नगर्न निर्देशन दिए तापनि कार्यक्रमका अधिकांश सहभागी तथा जिल्ला नेतृत्वले त्यसको विपरीत शिरदेखि वडा तहसम्मै पार्टी पुनर्गठन हुनुपर्ने अडान राखेका छन्।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित कार्यदलले आयोजना गरेको उक्त कार्यक्रममा कोशी प्रदेशका पाँचथर बाहेक १३ वटै जिल्लाका पदाधिकारी, केन्द्रीय सदस्य तथा गत फागुन २१ को निर्वाचनका उम्मेदवारहरूको बाक्लो उपस्थिति थियो।

मञ्चमा पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव लगायतका शीर्ष नेताहरू आसिन भएकै अगाडि सहभागीहरूले पार्टीमा विचारभन्दा पनि नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको गुनासो पोखे।

कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा आन्दोलन प्रधान हुने धारणा राख्दै सहभागी जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूले हाल पार्टी व्यक्ति केन्द्रित बन्दै गएको र यसरी आन्दोलन अगाडि बढ्न नसक्ने बताए। फेरिएको राजनीतिक परिस्थिति अनुसार पार्टीका सबै तह र कमिटीहरू बदल्नुपर्ने उनीहरूको सामूहिक मत थियो।

जिल्ला अध्यक्षहरूको मुख्य सुझाव र अन्य पदाधिकारीहरूको पूरक सुझाव सङ्कलन गरिएको यो दुई दिने कार्यक्रमको दोस्रो दिन भोलि पार्टी महासचिव शङ्कर पोख्रेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ। भोली नेकपा एमाले कोशी प्रदेश कमिटीको पूर्ण वैठक बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad