कोशी


कोसी: नीति तथा कार्यक्रममा संशोधन हाल्न नपाएपछि विपक्षी दलले गरे सदन अवरुद्ध

कोसी: नीति तथा कार्यक्रममा संशोधन हाल्न नपाएपछि विपक्षी दलले गरे सदन अवरुद्ध

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १९:१३, विराटनगर

कोसी प्रदेश सभामा सांसदलाई नीति तथा कार्यक्रममा संशोधन हाल्न नदिई पारित गरिएको भन्दै विपक्षी दलले सदन अवरोध गरेको छ।

प्रदेश सभाको नवौँ अधिवेशनको मंगलबारको छैटौँ बैठकमा नीति तथा कार्यक्रम माथि संशोधन पेस गर्नका लागि सभामुखले समय नदिई पारित गरेपछि विपक्षीले विरोध गरेका हुन्।

कोशी प्रदेश सभामा गत जेठ ७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका थिए। मुख्यमन्त्रीले जवाफ दिए लगत्तै सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गरेका थिए।

‘हुन्छ भन्नेले हुन्छ भन्ने र हुन्न भन्नेले हुन्न भन्ने’ मत विभाजनपछि ‘हुन्छ’ भन्ने पक्षका सांसदले हुन्छ भनेपछि विपक्षी नेकपाका सांसदहरूले नियम मिचेको भन्दै प्रदेश सभामा उठेर अवरोध गरेका थिए।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सांसदहरूलाई संशोधन हाल्न नदिई पारित गरिएको भन्दै उठेर अवरोध गरेका थिए। त्यसपछि नेकपाका सबै प्रदेश सभा सदस्यहरू उठेर सदन अवरुद्ध गरे।

सभामुख विष्टले पारित भइसकेको नीति तथा कार्यक्रम फिर्ता हुन नसक्ने जिकिर गरिरहे। ‘पहिला नै छलफल हुनुपर्ने थियो त्यो भएन,’ उनले भने, ‘माननीयज्यूहरू बसौँ, यो निर्णय भइसकेकाले संशोधन हुन सक्दैन।’

प्रदेश सभा सञ्चालन नियमावलीको दफा ३७ मा प्रदेश सभा सदस्यहरूले संशोधन हाल्न सक्ने व्यवस्था भए पनि त्यही बुँदालाई टेकेर सभामुखले उपयुक्त ठहर्‍याएमा मात्रै संशोधन हाल्न दिन सक्ने भन्ने व्याख्या गरेका थिए। प्रतिपक्षीको अवरोधका बीच कोशी प्रदेश सभाको बैठक बुधबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad