कोशी


ओखलढुंगाको एउटै वडामा पति-पत्नी मारिएको एक महिना बित्न नपाउँदै फेरि अर्का दम्पतीको हत्या

ओखलढुंगाको एउटै वडामा पति-पत्नी मारिएको एक महिना बित्न नपाउँदै फेरि अर्का दम्पतीको हत्या

नेपालखबर
माघ १३, २०८२ मंगलबार १२:२०, काठमाडौँ

ओखलढुङ्गाको चिशङ्खुगढी-६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ।

सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो।

पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान्को शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो।

उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो। घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए।

उनले भने, ‘घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।’

गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो।

त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका-४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो।

हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ।

शृङ्खलाबद्ध रूपमा भएका हत्याका घटनाका कारण स्थानीय त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ।

गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयले प्रहरीसमक्ष आग्रह गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad