मंगलबार दिउँसो ११:२० बजे कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिकैको खाली जग्गामा रोकिएको कारमा एकाएक आगो दन्कियो। बा ५ च ३०३८ नम्बरको सेतो रङको कारमा आगो लागेको देखेपछि स्थानीय एक जना पुगेर दुवै ढोका खोले।
आगो दन्किरहँदा गाडीको हर्न बजिरहेको थियो।
नजिकै मान्छे चिच्याउन थाले, ‘लौन मान्छे कसरी बचाउने होला? के गर्ने होला!’ अरु पनि त्यतातिर जम्मा हुन थाले तर कसैले तत्काल निभाउने उपाय देखेनन्।
कसैले बिरामी मान्छे रहेछन् भन्दै थिए। गाडीको चालक सिटमै थिए एकजना मान्छे। तर के गर्ने? कसो गर्ने? भेउ नपाउँदै ती मान्छे जले। आगो निभाइसक्दा पहिचान गर्नै मुस्किल हुने भइसकेको थियो उनको शव।
पछि प्रहरी पुग्यो। महिला हुन् कि पुरुष हुन् भन्ने छुट्याउन प्रहरीलाई पनि केहीबेर लाग्यो। तर ती व्यक्ति को हुन् भन्ने खुल्न सकेन। पछि यातायात कार्यालयमा बुझ्दा उक्त गाडी काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका सुरेशचन्द्र श्रेष्ठको भएको खुल्यो।
गाडी बैंकबाट कर्जा लिएर किनेको पत्ता लाग्यो। तर जसको गाडी हो, उनै व्यक्ति हुन् कि होइनन् भन्ने निष्कर्षमा पुग्न प्रहरीलाई पनि समय लाग्यो।
सुरेशचन्द्रको परिवार कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा बस्दै आएको थियो। पछि प्रहरीले खोजी गर्यो र आफन्तसम्म पुगेपछि मृतक सुरेशचन्द्र नै भएको खुल्यो।
सीसीटीभीबाट पनि सुरेशचन्द्र नै कार चलाएर त्यहाँ पुगेको प्रहरीले पत्ता पायो। ७० वर्षका सुरेशचन्द्र आफै कार चलाएर घटनास्थल पुगेका थिए। घटना हुनुभन्दा करिब १० मिनेटपहिले मात्रै उनी घरबाट निस्किएका थिए।
तर, पहिलो पटक उनी घटनास्थलमा पुगेर फर्किएको सीसीटीभीमा देखिन्छ। एक चक्कर लगाएर एकछिनपछि उनी पुनः त्यो खाली जग्गामा पुगेका थिए र कार रोकेका थिए।
त्यसको केही बेरमै कारमा आगो लागेको देखिएको छ। अहिलेसम्मको अनुसन्धानबाट सुरेशचन्द्र आफैले आगो लगाएर आत्मदाह गरेको प्रहरीको आकलन छ।
‘अहिलेसम्मको हाम्रो अनुसन्धानको निष्कर्ष भनेको उहाँ गाडीभित्रै बसेको अवस्थामा भएको घटना हो। यसमा दुई वटा कारण हुन सक्छ। एउटा प्राविधिक रुपमा फल्ट भएर आगो लाग्न सक्थ्यो। अर्को आफै लगाएको हुनसक्छ। हाम्रो अनुसन्धानले आफै आगो लगाइएको हो भन्ने निष्कर्षमा पुगेका छौँ,’ काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने।
यो घटनाका पछाडि कारण के थियो भन्ने अनुसन्धान बाँकी नै रहेको पनि एसपी भट्टराई बताउँछन्।
‘अहिले परिवार शोकमा र अन्तिम संस्कारमा हुनुहुन्छ। त्यही भएर हामीले धेरै कुरा गर्न पाएका छैनौँ। उहाँहरू कामबाट निस्किएपछि थप बुझ्छौँ,’ उनले भने।
श्रेष्ठ औषधि व्यवसायी हुन्। तर पछिल्लो समय व्यवसायमा घाटा भएर उनी ऋणको तनावमा रहेको आफन्तले प्रहरीलाई बताएका छन्।
उनको शव बुधबार पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको छ।
Shares

प्रतिक्रिया