राजनीति


दिल्लीमा कुमार बेन र अजित डोभालबिच भेटवार्ता, प्रधानमन्त्री शाहलाई भारत भ्रमण गराउने कसरत

दिल्लीमा कुमार बेन र अजित डोभालबिच भेटवार्ता, प्रधानमन्त्री शाहलाई भारत भ्रमण गराउने कसरत

नेपालखबर
साउन ६, २०८३ बुधबार २०:५२, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग जुलाई पहिलो साता भेटवार्ता गरेको खुलासा भएको छ।

विदेश भ्रमण तत्काल गर्ने कि नगर्ने वा गरे कुन देश पहिला जाने भन्ने अनिर्णयमा रहेका प्रधानमन्त्री शाहले सरकार बनेको सय दिन पुगेलगत्तै प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर भारत भ्रमणको तयारीमा लागेको जनाउ दिएका हुन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका केही उच्च नेताहरू र प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतहरूका अनुसार प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार बेन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्न आफूनिकट रोशन खड्काको साथमा दिल्ली पुगेका थिए।

दिल्लीमा उनले भारतको विदेश मन्त्रालयका केही उच्च अधिकारीसँग पनि भेटवार्ता गरेको स्रोतहरूले जनाएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनाल (२२–२४ जेठ) र रास्वपा सभापति रवि लामिछाने (१८–२२ जेठ) ले भारत भ्रमणका क्रममा नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे पहिले नै ब्रिफिङ गरिसकेकाले यो भेट खासगरी प्रधानमन्त्री शाहको भारत भ्रमणमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन्।

‘डोभाललाई बालेन सरकारको छिमेक नीति र प्राथमिकताहरूबारे ब्रिफिङ गर्ने काम भयो, प्रधानमन्त्री शाहको भारत भ्रमणका सम्भावित एजेन्डा र तयारीबारे पनि छलफल भयो,’ भेटबारे जानकार प्रधानमन्त्री कार्यालय सम्बद्ध एक अधिकारीले भने,  ‘अहिले नै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भइसकेको छैन। तर, अब तयारी गर्दै जाने समझदारी भएको छ।’

ती अधिकारीका अनुसार प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडै भारत भ्रमण गराउनुपर्ने डोभालको भनाइ थियो।

‘चुनावमा ठूलो जितपछि युवा प्रधानमन्त्री बनेकाले चाँडै भ्रमण गराउँदा त्यसको महत्व र आकर्षण हुन्छ,’ डोभालको आशय खुलाउँदै उनले भने, ‘हामी प्रधानमन्त्री शाहलाई दिल्लीमा स्वागत गर्न चाहन्छौँ।’  

दिल्लीमा रहँदा बेन र खड्काले भारतका विदेश मन्त्रालय र केही अन्य अधिकारीहरूसँग पनि भेटवार्ता गरेको स्रोतहरूले उल्लेख गरेका छन्।

राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल दिल्लीमा नेपाल नीति निर्माणमा निर्णायक मानिन्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र डोभाल मन्त्रीस्तरका उच्च सुरक्षा अधिकारी हुन्। मोदीले दिल्लीमा सभापति लामिछानेसँग भेटवार्ता गर्दा विदेशमन्त्री एस जयशंकर, डोभाल र विदेश सचिव विक्रम मिश्रीलाई सँगै राखेका थिए। विदेशी नेताहरूसँगको भेटवार्तामा प्रधानमन्त्री मोदीसँगै बस्ने यो भारतको सबैभन्दा उच्च टिम हो।

मोदीसँग भेटवार्तामा बस्नुअघि डोभालले लामिछानेसँग छुट्टै वार्ता गरेका थिए। त्यसलगत्तै भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि डोभालले छुट्टै भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री शाहले काठमाडौँस्थित भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल भ्रमणमा आउन लागेका विदेश सचिव मिश्रीसँग भेटका लागि समय नदिएपछि बालेन सरकारसँग नयाँ दिल्लीको सम्बन्ध चिसिएको थियो। त्यहीबेला सभापति लामिछाने र खनालले भारत भ्रमण गरेपछि प्रधानमन्त्री शाहको भ्रमण झन् अनिश्चित बन्दै गएको थियो।

यही बेला प्रधानमन्त्री शाहले कुमार बेनलाई दिल्ली पठाएर भारतसँगको सम्बन्धलाई आफ्नो सरकारले महत्वका साथ लिएको जनाउ दिन खोजेका छन्। सभापति लामिछानेसँग पनि सल्लाह गरेर दिल्ली गएका बेनले फर्केपछि उनलाई भारतमा भएका छलफलबारे ब्रिफिङ गरेका छन्।

दिल्लीबाट फर्केर कुमार बेनले शाह र लामिछानेलाई गरेको ब्रिफिङपछि प्रधानमन्त्री शाहले काठमाडौँस्थित भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लै भेटवार्ता गर्ने तय भएको छ। सम्भवतः यही साताभित्रै शाह र श्रीवास्तवबिच पहिलो पटक एक्लाएक्लै भेट हुनेछ।

परराष्ट्र मन्त्रालय सम्बद्ध स्रोतहरूका अनुसार सम्भवतः सेप्टेम्बरअघि नै प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्नेछ। यसपालि सेप्टेम्बर ८ मा सुरु हुने संयुक्त राष्टसंघीय महासभामा सहभागी हुने प्रधानमन्त्री शाहको प्रारम्भिक तयारी छ। उनी महासभामा सहभागी हुन अमेरिका जानुअघि नै भारत भ्रमण गर्ने कसरतमा जुटेका हुन्।  

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेको संकेतसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही साउन महिनामै नेपाल आउन सक्ने चर्चा पनि भइरहेको छ। साउनको सोमबार (११, १८ र २५ गते) पारेर पशुपतिनाथमा पूजा गर्न र लुम्बिनी पनि जान सक्ने गरी मोदीको नेपाल भ्रमण हुन सक्ने सुरक्षा अधिकारीहरूले पनि जनाएका छन्।

‘सभापति लामिछानेसँग भेट हुँदा पनि मोदीले नेपाल आउने र मन्दिरहरू जाने चर्चा गर्नु भएको रहेछ,’ लामिछाने निकट रास्वपाका एक नेता भन्छन्, ‘मोदीको कार्यक्रम यदि आकस्मिक रुपमा रोकिएन भने विशेष जहाजमा काठमाडौँ आएर पशुपति र अर्को एक ठाउँ जाने भन्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad