कोशी


कटारीमा अवैध युरिया मल भण्डारण, सञ्चालकलाई कारबाही सिफारिस

कटारीमा अवैध युरिया मल भण्डारण, सञ्चालकलाई कारबाही सिफारिस

सुमन सुस्केरा
भदौ १५, २०८२ आइतबार १७:५७, विराटनगर

कटारी नगरपालिका-४, सिम्लेमा अनुमतिबिना भण्डारण गरिएको करिब २०० बोरा अनुदानको युरिया मल बरामद भएपछि अनुगमन समितिले सञ्चालकविरुद्ध कानुनी कारबाहीको सिफारिस गरेको छ। 

जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयको संयोजकत्वमा इलाका प्रशासन कार्यालय, स्थानीय तहका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, राष्ट्रिय अनुसन्धान र अन्य निकायका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो। 

अनुगमनका क्रममा ‘आशुतोष ट्रेडर्स एन्ड जेनरल स्टोर्स’ (सञ्चालक दिलीप चौधरी) ले भाडामा लिएको गोदाममा नेपाल सरकारबाट अनुदानमा वितरण हुने कृषि सामग्री कम्पनी लिमिटेडको लेबलसहितको युरिया मल ठुलो मात्रामा भण्डारण गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ।

अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार संघीय सरकारबाट प्रदेश हुँदै स्थानीय तहमा आउने मल स्थानीय तहले तोकिएका सहकारी संस्थामार्फत मात्र वितरण गर्नुपर्ने व्यवस्था छ। 

तर कटारी नगरपालिकाले तोकिएका ७ वटा सहकारी संस्थामार्फत वितरण गर्ने प्रावधानलाई तोडेर चौधरीको निजी व्यवसायमा मल भण्डारण भएको पाइएको प्रतिवेदनमा निष्कर्ष निकालिएको छ।

चौधरीको नाममा दर्ता भएको व्यवसायमा कृषि सामग्री लिमिटेडले मलखाद बिक्री वितरण नै गर्न नपाउने प्रतिवेदनले प्रस्ट्याएको छ। चौधरीसँग मल कहाँबाट आएको, कसरी भण्डारण भएको भन्ने प्रश्नमा स्पष्ट जवाफ पनि आएको छैन। सोधपुछका क्रममा चौधरीका आफ्नै भनाइमा समेत नमिलेको समितिले जनाएको छ।

त्यस्तै, मल ढुवानीका लागि प्रयोग भएको ना.६.ख.२१(१) नम्बरको ट्रक, चालकको विवरणसमेत अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ। अनुगमन प्रतिवेदनमा चौधरीले गैर कानुनी रूपमा मल भण्डारण गरेको देखिएकाले प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने निष्कर्ष समितिको छ।

स्थानीय बजारमा युरिया मलको तिब्र अभाव भएको र किसानले बारम्बार गुनासो गरेपछि बरामद मल तत्काल कटारी नगरका किसानलाई वितरण गर्न सिफारिस सहितको प्रतिवेदन प्राप्त भएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए। 

सरकारी अनुदानको मल दुरुपयोग गर्नेलाई कुन विधिबाट कारबाही गर्ने भन्ने कानुनी व्यवस्था अहिलेसम्म फेला नपरेकोले समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए।

‘अहिले प्रारम्भिक प्रतिवेदन प्राप्त भएको छ,’ उनले भने, ‘कुन च्यानलबाट मल त्यहाँ पुग्यो भन्ने बारेमा हामीले एक दुई दिन भित्रमा पत्ता लगेपछि विस्तृत भन्न सकिन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad