कोशी


कोसी सञ्चार विधेयक सच्याउन महासंघको चेतावनी, धर्ना बसेका पत्रकारमाथि दुर्व्यवहार

कोसी सञ्चार विधेयक सच्याउन महासंघको चेतावनी, धर्ना बसेका पत्रकारमाथि दुर्व्यवहार

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १६:१८, विराटनगर

कोसी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको कोसी प्रदेश आमसञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघ कोसी सहित पत्रकारसँग सम्बन्धित संघ संगठनले गम्भीर आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन्।

संघ संगठनले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग पटक–पटक सुझाव लिएर पनि सरकारले विषयमा असंवेदनशीलता देखाएको आरोप लगाएका छन्।  

न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भएको अवस्थामै विधेयक अघि बढाइए सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। 

‘विधेयकका केही प्रावधान प्रेस स्वतन्त्रता विरोधी र संविधानको मर्म विपरीत छन्। स्वतन्त्रपूर्वक कलम चलाउने पत्रकारलाई राजनीतिक नियुक्त व्यक्तिले जरिवाना र सजाय दिने व्यवस्था स्वीकार्य छैन,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सुझाव लिने औपचारिकता पूरा गरेर त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थामा सुहाउँदैन।’

नेपाल पत्रकार महासंघ कोसीका महासचिव हिमाकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिमा विधेयकले प्रेस स्वतन्त्रता मात्र होइन, लोकतन्त्र र गणतन्त्रलाई समेत कमजोर पार्ने भन्दै सच्याउन जोडदार माग गरिएको छ।

महासंघले सरकारलाई सरोकारवालाको सुझाव समेटेर सबै पक्षले स्वीकार गर्न सक्ने गरी ऐन ल्याउन आग्रह गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएको छ। त्यस्तै संसदीय पत्रकार मञ्चका अध्यक्ष कुमार लुइँटेल, प्रेस सेन्टर नेपालका महासचिव गोकुल पराजुली, नेपाल प्रेस युनियनका महासचिव संजिव बगाले लगायत प्रेस चौतारीले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। 

यसैबीच कोसी प्रदेशको आम सञ्चार विधेयकको विरोधमा प्रदेशसभा सचिवालय बाहिर धर्नामा बसेका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। शान्तिपूर्ण धर्नामा बसेका पत्रकार महासंघका पदाधिकारीसमेतलाई लछारपछार गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad