मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष गुणावती धामी थारुले सिफारिससहितका अनधिकृत कार्य गरेको आरोप लगाउँदै उपाध्यक्षले गरेका पत्राचार बदर गरिदिएका छन्।
उनले उपाध्यक्ष धामीलाई पत्राचार गर्दै अबैध काम नगर्न समेचत समेत गराएका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगर र कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरलाई समेत पत्रको बोधार्थ पठाउँदै यसअघि उपाध्यक्षको हस्ताक्षरमा भएका कार्य, कार्यवाही र पत्राचार बदर गरिएको जानकारी गराएका छन्।
पत्रमा अब उपाध्यक्षबाट भएका त्यस्ता कार्यलाई तत्कालै रोक्नुपर्ने उल्लेख छ। साथै उनले सम्बन्धित कार्यालयलाई पनि त्यस्तो दर्ता-चलानी नगर्न निर्देशन दिइएको उल्लेख गरेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पनि सम्बन्धित निकायलाई जानकारी गराउन र भविष्यमा त्यस्ता कार्य नगर्न कडाइका साथ पत्रमा निर्देशन दिइएको छ।

उपाध्यक्ष थारूले किसानलाई मलखाद किसानलाई उपलब्ध गराउन रसायनिक मल वितरण सिफारिस समितिको संयोजकको हैसियतले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरलाई सिफारिस पत्र पठाएको थिइन्।
पालिकाका अध्यक्ष माझीले उपाध्यक्षको संयोजकत्वमा बस्ने मल खाद अनुदान उपलब्ध गराउने स्थानीय समितिको सदस्यहरूलाई समितिबाट हटाएर कानुनको धज्जी उडाएको केही स्थानीयको आरोप छ।
उनले प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारी र कृषि विकास शाखाका प्रमुख सुरेन कुमार माझीलाई समितिबाट हटाउने पत्र थमाएका थिए। उनलाई हटाउने पत्र दिइएसँगै समितिको बैठक बस्न सकेको थिएन्।
उपाध्यक्ष गुणावती थारूले कृषिमा प्रयोग हुने मल वितरणसम्बन्धी काममा संलग्न भएको भन्दै आफूलाई लक्षित गरेर अध्यक्षले पत्र पठाइएको बताइन्।
उपाध्यक्ष थारूको आफ्नो पत्रले साल्ट ट्रेडिङ र कृषि कम्पनी लिमिटेडबाट किसानलाई उपलब्ध गराउने युरिया लगायतका मल आएको उल्लेख गरिन्।
अध्यक्ष माझी नेकपा माओवादी केन्द्रबाट उपनिर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उपाध्यक्ष भने एमालेबाट चुनाव जितेकी थिइन्।
अध्यक्ष र उपाध्यक्षबीचको विवादकै कारण पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेको छैन।
Shares

प्रतिक्रिया