कोशी


लामिछानेको हस्ताक्षर अभियानबाट पक्राउ परेका अभियुक्तलाई तत्काल थुनामा राख्न नमिल्ने

लामिछानेको हस्ताक्षर अभियानबाट पक्राउ परेका अभियुक्तलाई तत्काल थुनामा राख्न नमिल्ने

नेपालखबर
साउन २१, २०८२ बुधबार १९:२, विराटनगर

बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएको भनी पक्राउ परेका  सुनसरीको वराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय अर्थराज कोइरालालाई सुनसरी जिल्ला अदालतले छाडिदिएको छ। 

मङ्गलवार रास्वपाले पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा विराटनगरमा आयोजना गरेको हस्ताक्षर सङ्कलन कार्यक्रममा सहभागी हुन पुगेको बेलामा उनलाई पक्राउ गरेको थियो।

सोही क्रममा पीडित पक्षको सूचनाको आधारमा मोरङ प्रहरीले उनलाई नियन्त्रणमा लिई सुनसरी प्रहरीलाई जिम्मा दिएको थियो। पुनरावेदनको कानुनी म्याद बाँकी रहेका कारण उनी अदालतबाट रिहा भएका छन्।

सुनसरी जिल्ला अदालतबाट बाल यौन दुरुपयोग अभियोगमा कोइरालामाथि दुई वर्ष कैद सजाय, २५ हजार जरिवाना र दुई लाख रुपैयाँ क्षतिपूर्ति फैसला भएको थियो। जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रजंग राणाले अदालतले दोषी ठहर गरे पनि कोइरालाको हकमा बाहिरै बसेर पुनरावेदन गर्न पाउने कानुनी अधिकार रहेको बताए।

राणाका अनुसार, कोइरालाले पुनरावेदन गर्न पाउने कानुनी समय (म्याद) अझै बाँकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाले अदालतले कानुनी प्रक्रिया विपरीत पक्राउ गरिएको ठहर गर्दै रिटमार्फत कोइरालालाई रिहा गरेको हो।

‘पुनरावेदनको म्याद बाँकी हुँदा पक्राउ गर्नु कानुन विपरीत हुन्छ। त्यसैले अदालतबाट उनी रिहा भएका हुन्,’ स्रेस्तेदार राणाले भने, ‘उक्त मुद्दामा जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलासबाट फैसला भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad