कोसी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले क्यूआर कोड पडाउने आफ्नै सहयोगीलाई अनधिकृत व्यक्ति भएको बताएका छन्।
कोसी प्रदेश सभाको आइतबारको बैठकमा मन्त्रीको सचिवालयले कर्मचारीलाई पैसा पठाउन क्यूआर कोड पठाएको भन्ने बारेमा नेपाल खबरले क्यूआर कोडका कारण मन्त्री फेर्ने विषयमा समाचार सार्वजनिक गरेको थियो।
यो विषयमा सांसदहरूले मन्त्रीले स्पष्ट पार्नु पर्ने, राजीनामा दिनुपर्ने विषय प्रदेश सभामा उठाउँदै आएका थिए। यो विषयमा मन्त्रीले जवाफ दिँदै क्यूआर कोड पठाउने व्यक्तिलाई आफूले नचिनेको नजानेको व्यक्ति भएको बताएका हुन्।
प्रदेश सभामा उनले भनेका छन्, ‘हालैको दिनमा मेरो नाम जोडेर क्यूआर कोड मार्फत लाभ लिन लागेको आरोप संसद्, पत्रपत्रिका र सामाजिक सञ्जालमा उठान गरिएकोले म जवाफ दिन उपस्थित भएको छु।’
क्यूआर कोडको बारेमा गल्ती देखाउने तर प्रमाण दिनु नपर्ने, के क्यूआर कोड मेरो मोबाइल मार्फत पठाइएको थियो? उनले प्रश्नसँगै त्यस विषयलाई आरोप आधारहीन, पूर्वाग्रही र तथ्यहीन रहेको समेत भन्न भ्याए।
बजारमा आएको क्यूआर कोड कसको हो, के प्रयोजनकालागि कसलाई, किन दिइएको हो यो विषयमा उनले आफ्नो कुनै पनि संलग्नता नभएको बताए। उनले क्यूआर कोडवाला व्यक्ति आफ्नो सचिवालयको व्यक्ति समेत नभएको भन्न भ्याए। उनले क्यूआर कोड प्रयोगको सम्बन्धमा निजलाई छानबिन गर्न पनि आग्रह गरे। छानबिनमा सहयोग गर्नु पर्दा आफूले सहयोग गर्न पनि तयार रहेको भन्न भ्याए।
‘कागले कान लग्यो भन्दैमा कान नसमाती दौडनेमा म पर्दिन,’ उनले भने, ‘यसमा कुनै मेरो गल्ती छैन, कुनै व्यक्तिले क्यु आर कोड पठाएको विषयमा मलाई जोड्न मिल्छ, प्रश्न गर्न चाहन्छु।’
यो प्रकरणमा आफूमाथि अन्याय भएको भन्दै उनले आफ्नो सचिवालयले त्यस्तो गरेको प्रमाणित गर्न चुनौती समेत दिए। उनले अहिलेसम्म आफ्नो कुनै पनि क्यूआर कोड नै नभएको र बैङ्कहरूबाट क्यूआर कोडको सेवा समेत नलिएको बताए।
‘आफूले क्यूआर कोड नै नलिएकोले आफूमाथि लगाएको आरोप कपोकल्पित, राजनीतिक दाउपेच र चलखेल गरी आफ्नो व्यक्तिगत छविलाई दूषित बनाई उनीहरूको इच्छा आकाङ्क्षा पुरा गर्ने मनसाय रहेकोले प्रमाणित गर्न चुनौती दिन्छु,’ उनले भने।
उनले झुटा कुरा उठाएर आफ्नो चरित्र हत्या गर्ने काम गरेको समेत बताए। मेरो मन्त्रालयमा कुनै पनि कर्मचारीलाई क्यूआर पठाएर घुस मागेको कुनै पनि प्रमाण नभएकोले यदि कसैसँग प्रमाण छ भनेँ सदनमा ल्याएर सार्वजनिक गरेर देखाउन चुनौती थियो।
‘अनधिकृत व्यक्तिको क्यूआर कोडलाई घुसको संज्ञा दिई केही व्यक्ति र सञ्चार माध्यामहरुले अनावश्यक हल्ला गरेका छन्,’ उनले भने, ‘राजनीतिक कुचेष्टा, विवादको घेरामा ल्याउने कुनियत बाहेक म केही देख्दिन।’
उनले सदनमा यो विषय बोलिरहँदा उनका सहयोगी अमृत मेहता केही समय अघि उनीसँगै थिए। उनलाई मन्त्रीले सचिवालयमा नियुक्ति नगरेको भए पनि उनले नै सबै काम सचिवालयको गर्दै आएका थिए।
उनै अमृतले आफू सन्तोष मेहता रहेको भन्दै मन्त्रालयका सबै काम गर्दै आएका थिए। अमृत मेहता मन्त्रीका विश्वास मात्र हुन्। मन्त्रीकै इशारामा अमृतले कर्मचारीलाई क्यूआर कोड पठाएको कर्मचारी निकट स्रोत बताउँछ।
अमृत मेहताले २०८१ साल फागुनको दोस्रो हप्तासम्म कर्मचारी सरुवा, पदस्थापन लगायतमा कर्मचारीहरूलाई क्यूआर पठाएर पैसा मागेको आरोप लाग्दै आएको थियो। मन्त्री मण्डलले आफ्नो क्यूआर कोड नै नभएको संसद्मा जवाफ दिए पनि क्यूआर कोड अमृत मेहताको पठाइएको छ।
Shares

प्रतिक्रिया