क्यूआर कोडमार्फत कर्मचारीबाट रकम लिएर सरुवा गरिएको विषय सार्वजनिक भएपछि कोसी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफ्नो बचाउ गरेका छन्।
आफ्नो गल्ती ढाकछोप गर्न मन्त्री मण्डलले कर्मचारीबाट विज्ञप्ति जारी गर्न लगाएर बचाउको प्रयास गरेका हुन्।
उनको सचिवालयले क्यूआर कोड प्रकरणमा मन्त्रीको संलग्नता नभएको दाबी गरेको छ।
क्यूआर कोडमार्फत रकम सङ्कलन गरिएको भन्ने समाचारप्रति सचिवालयले गम्भीर आपत्ति जनाउँदै ती समाचारलाई तथ्यहीन, भ्रामक र कपोकल्पित भनेको छ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यमहरूमा केही दिन यता आएको समाचारहरू एकपक्षीय रहेको उल्लेख गरिएको छ।
‘मन्त्रीज्यूले कुनै पनि अनधिकृत लाभ वा सुविधा लिनुभएको छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘क्यूआर कोडमार्फत रकम माग गरिएको भन्ने दाबी पूर्णतः गलत र बदनियत पूर्ण हो।’ विज्ञप्तिमा भनिएको छ।
कर्मचारी सरुवासम्बन्धी प्रक्रिया कानुनी र प्रशासनिक मापदण्डअनुसार अगाडि बढाइएको र मन्त्री मण्डलको कार्यशैली पारदर्शी, सुशासनयुक्त र संवैधानिक मर्यादाभित्र सीमित रहेको पनि भनिएको छ।
सचिवालयबाट निकालिएको विज्ञप्तिमा खरिदार वा सो सरहका कर्मचारी कुन्दन मण्डलले हस्ताक्षर गरेका छन्।
प्रमुख स्वकीय सचिव सुजित राई र स्वकीय सचिव सन्तोष मेहता कुन्दन मण्डल भन्दा सचिवालयका सिनियर कर्मचारी हुँदा हुँदै जुनियर कर्मचारीबाट विज्ञप्ति जारी गर्न लगाइएको छ।
तथ्य पुष्टि नगरी र सम्बन्धित पक्षको प्रतिक्रिया नलिई प्रकाशन गरिएका समाचारहरू प्रेस स्वतन्त्रताको नाममा गरिएको गम्भीर आचारसंहिताको उल्लङ्घन भएको समेत भन्न भ्याइएको छ।
Shares

प्रतिक्रिया