कोशी


कोसीका पर्यटनमन्त्री भन्छन्ः आफ्नो क्षेत्रमा बजेट हाल्दा गल्ती भए कान समातेर उठ् बस् गर्छु

कोसीका पर्यटनमन्त्री भन्छन्ः आफ्नो क्षेत्रमा बजेट हाल्दा गल्ती भए कान समातेर उठ् बस् गर्छु

सुमन सुस्केरा
असार ११, २०८२ बुधबार २१:३८, विराटनगर

कोसी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले मन्त्रीको आफ्नो निर्वाचन क्षेत्रमा बजेट हाल्ने यसअघि देखिकै चलन अनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रमा बजेट हालेको बताएका छन्।

गत वर्ष सुनसरी क्षेत्र नम्बर ४ (१)मा १५ लाख मात्रै बजेट हालिएकोले यो वर्ष बजेट हाल्नु कुनै नौलो कुरा नभएको समेत बताए। कोसी प्रदेश सभामा विनियोजित बजेटमा मन्त्रालयगत मन्त्रीहरूले जवाफ दिने क्रममा मन्त्री मण्डलले सांसदहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिँदै मन्त्री भएको बेला बजेट धेरै जाँदा आफूलाई खराब दर्ज गराउने प्रयास भएको समेत बताए। 

कोसी प्रदेश सभामा बजेट माथिको छलफलको क्रममा प्रदेश सभा सदस्यहरूले मन्त्री मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै बजेट हालेको बताएका थिए। मन्त्री मण्डलले जवाफ दिने क्रममा सुनसरीमा १५ जना माननीय रहेकोले कसैको अढाई करोड कसैको डेढ करोडको कारणले गर्दा रातो किताबमा सुनसरी मात्रै देखिएको प्रष्टीकरण दिए। 

उनले भने, ‘यो कुनै ठुलो कुरा हो जस्तो लाग्दैन। सुनसरीमा बराह क्षेत्र धाम, राम धुनी त्यहीँ छ, कोसी टप्पु सुनसरीमै छ, बर्जुताल सुनसरीमै छ, त्यसरी बजेट धेरै आउनु स्वाभाविक हो।’

मन्त्री मण्डलले २०८१।०८२ को रातो किताब हेर्दा सांसद तथा मन्त्रीहरूले गरेको गल्ती भन्दा आफूले ठुलो गल्ती नगरेको समेत भन्न भ्याए। उनले आफूले गल्ती गरेको भए कान समातेर सदनमै उठबस गर्ने समेत बताए।

‘सायद मैले गरेको गल्ती हो भने म कान समातेर उठ्छु बस्छु यहाँ’, उनले भने, ‘८१ र ८२ सालका मन्त्रीहरूले मैले यसरी हेर्दा लगभग एउटै पालिकै, सुनवर्षी... सुनवर्षी... सुनवर्षी, रतुवामाई.. रतुवामाई... रतुवामाई, मेरो जम्मा सुनसरी क्षेत्र नम्बर ४ (क) मा १५ लाखको एउटा योजना मात्रै परेको थियो, हनुमान मन्दिरमा।’ 

उनले सांसदहरूले आफू प्रति औँला देखाएर प्रश्न गरिएको प्रति समेत असन्तुष्टि जनाए।

‘अगर आज मलाई त्यसरी औँला देखाउनु हुन्छ भने हजुरहरूले आजबाट ल मानिलिऊँ सच्याउन तयार हुन्छु, निर्णय होस् यो सदनबाट, कसम खाउन् सबै जना, कि मन्त्रीहरूले बजेट लान पाउँदैन, म तयार छु,’ उनले भने, ‘केही बजेट स्वाभाविक रूपमा मेरो क्षेत्रमा सानो सानो बजेट गएको छ, ठूलो बजेट गएको छैन, त्यसलाई नयाँको हिसावले पनि माननीयज्यूहरूले सम्झिदिए हुन्थ्यो।’

उनले आफ्नो राजनीतिक जीवनको बारेमा पनि माननीयहरूले कुरा उठाएकोमा सांसद लक्षित जवाफ दिए।

‘केही माननीयज्यूहरूले मेरो राजनीतिक जीवनको बारेमा कुरा उठाउनु भयो, म खास गरी नेपाली कांग्रेसका माननीयज्यूहरूमाथि माथि प्रश्न गर्न चाहन्छु,’ उनको आक्रोश थियो, ‘म २०४९ सालको आठौँ महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुँ, मलाई तर्साएर, मलाई धम्क्याएर,  मलाई त्यो प्रयास नगरौँ माननीयज्यूहरू म विनम्रता पूर्वक अनुरोध गर्छु , म पनि कांग्रेसमा धेरैचोटी जेलनेल भोगेर आएको छु।’

आफू धेरै पटक जेलनेल र थुनामा बस्नुको कारण भने कुनै चोरीको कारण थुनामा नगएकोले धम्क्याउने प्रयास नगरिदिन र त्यो राम्रो नहुने चेतावनी दिए। 

‘म मात्रै मन्त्री हैन, धेरै जना मन्त्री भएका छन्, धेरैले काम गरेका छन् , केही बजेट मेरो निर्वाचन क्षेत्रमा जाँदैमा म खराब भएँ भन्ने भाष्य नगर्नुस्, मेरो सुनसरी क्षेत्र नम्बर ४ मा ३२ वडा वटा छ,’ मन्त्री मण्डलले भने, ‘तपाईँ आफ्नो जिल्लालाई हेर्नुस् मेरो क्षेत्रमा ६ वटै पालिका नेपाली कांग्रेसले जितेको छ, तपाईँले कति वटा पालिका जिताउन सक्नुभयोर?’

मन्त्री मण्डलले नेपाली कांग्रेसको आमसभामा गएर एउटा समूह र अर्को समूहको बिचमा कटाक्ष गरेकै शैलीमा ३२ वटा वडा मध्ये १७ वटा वडा आफूले जिताएको समेत भन्न भ्याए।

‘मलाई कांग्रेसको खत्तम मान्छे भनेर यसरी औँला देखाउने काम नगरौँ, म यो सहन तयार छैन’, मन्त्री भन्छन्, ‘म तपाइँलाई सम्मान गर्छु, सम्मानित हिसावले हेर्ने प्रयास गरौँ, सानो बजेट लग्दैमा म खराब भएँ? चलन छ चलिरहेको छ, आज मात्रै यो सदनमा मैले बजेट लगेको हो र? यो भन्दा पहिला माननीय ज्यूहरूले, मन्त्रीज्यूहरूले बजेट लगेको हैन र? त्यस कारणले यस्तो खालको प्रस्तुति राम्रो हुँदैन कसैको हकमा राम्रो हुँदैन।’

बुधबारदेखि कोसी प्रदेश सभामा  मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको छ। बुधवार मात्रै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँच कर्ण राईले जवाफ दिएका छन्।

जवाफ दिने क्रममा मन्त्री मगरले छलफलकै क्रममा पुँजीगत भन्दा चालु खर्च बढी भएको, आयोजना बैङ्क प्रभावकारी नभएको, बजेट सिलिङ अनुसार बजेट नआएको र पक्षपात भएको विषयहरू उठेकोले सुधार गर्ने प्रतिबद्धता जनाए। 

उनले असमान वितरण, अनुगमन प्रभावकारिताको प्रश्न, समयमा ठेक्का नलगाएको, बहुवर्षीय आयोजनाको लागि थोरै बजेट विनियोजन भएको भनेर प्रश्न उठेकोले विषयमा केन्द्रित जवाफ दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad