कोशी


प्रमुख प्रशासकीय अधिकृत राम चरित्रलाई विराटनगर महानगरले हाजिर नगराउने

प्रमुख प्रशासकीय अधिकृत राम चरित्रलाई विराटनगर महानगरले हाजिर नगराउने

सुमन सुस्केरा
बैशाख १०, २०८२ बुधबार १३:१४, विराटनगर

विराटनगर महानगरपालिकामा सरुवा भएका राम चरित्र मेहतालाई विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले हाजिर हुन नदिने बताएका छन्। विवादित छविका मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिर हुन नदिने बताएका हुन्। 

इटहरी उपमहानगरपालिकामा लामो समयसम्म बसेका मेहताले जनप्रतिनिधिहरूलाई विवादित बनाउने काम गरेको भन्दै हाजिर हुन नदिने तयारीमा महानगरपालिका देखिएको महानगर स्रोतले बताए।

महानगरपालिकासँग सहमति समेत नलिई कार्यशैली ठिक नदेखिएको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाको सचिवालयले जनाएको छ। सरुवा गरेको समाचार आएपछि मेयर असन्तुष्ट देखिएको बताए।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेकोमा मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ। इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको बेलामा उनी विवादित भएका थिए। उनले कर्मचारीलाई उक्साएर आन्दोलन गराएको आरोप लाग्दै आएको थियो। 

उपप्रमुखसँगको विवाद पछि उनले वडाको सर्भर डाउन गराउन भूमिका खेलेको तथा कर्मचारी र जनप्रतिनिधिको बिचमा विवाद सिर्जना गराउने काम गरेको भन्दै मेहता माथि आरोप लाग्दै आएको थियो। मेहता यसअघि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत कार्यरत थिए।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहमति नै नलिई पठाइएको प्रमुख प्रशासकीय अधिकृतलाई स्विकार्न नसकिने बताए। ‘मेयर र जनप्रतिनिधिसँग एक बचन पनि नसोधी पठाइएको प्रमुख प्रशासकीय अधिकृतलाई हामीले कसरी स्वीकार्न सक्छौँ?’, उनले भने, ‘हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक हो, सेटिङमा प्रमुख प्रशासकीय अधिकृत आउँदा हामी चुप लागेर बस्दैनौँ।’

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले इटहरीमा नै त्यत्रो विवाद भएको व्यक्तिलाई महानगरले स्वीकार गर्न नसक्ने बताइन् । ‘हिजो इटहरीमा त्यत्रो विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका त्यही व्यक्तिलाई हामीले कसरी  स्वीकार गर्न सक्छौँ ?’, उनले भनिन्, ‘हामीले अरूलाई पठाए पनि त्यो व्यक्तिलाई नपठाउन मन्त्रालयमा समेत भनेका थियौँ, त्यही व्यक्ति सरुवा लिएर आउने कुरा ठिक हैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad