हरिया टिनले बनाएका घर। सडकमाथि उत्तिसका बोट। सडकमुनि उनी पाहुना पर्खिंदै थिए। उनी हुन्- ५३ वर्षीय हरि बस्नेत।
झापाको दमक घर भएका बस्नेत हाल भोजपुरको भोजपुर नगरपालिका-९, गैरीगाउँमा होमस्टे सञ्चालन गरिरहेका छन्।
भोजपुरको देउरालीबाट करिब ३ किलोमिटर उकालो लागेपपछि उनको होमस्टे पुगिन्छ।

उनलाई दमकमा कुनै अभाव छैन। सुविधा सम्पन्न महल र प्रशस्त जग्गा छन्। तर उनलाई आफ्नो पुर्खाको थातथलो भोजपुरको गैरीगाउँमै केही गर्ने हुटहुटी लाग्यो।
उनी २०४९ सालमा भारतीय सेनामा भर्ती भए। जसमा उनले १८ वर्ष ७ महिना जागिर खाए। उनी जागिरमै रहेका बेला बुबा-आमा गाउँबाट मधेस बसाइँ सरे। मधेस झर्दा उनीहरूले गाउँमा रहेका आफ्ना चल-अचल सम्पत्ति सबै बिक्री गरे।
बस्नेत सुनाउँछन्, ‘मेरी आमाले मलाई यही गाउँमा धेरै दु:ख गरेर हामीलाई हुर्काउनुभयो। खाली खुट्टा साग बेच्दै हिँडेको आमाको त्यो दु:ख सम्झिएर यहीँ केही गरौँ भन्ने लागेर फर्किएँ।’
सबैले चिनेको ठाउँ, राम्रो हावापानीका कारण पनि आफूलाई गाउँ नै फर्कन मन लागेको उनी बताउँछन्। उनका बुबा-आमा अहिले पनि दमकमै बस्छन्। हरिको परिवार भने भोजपुरमा होमस्टे सञ्चालन गरेर बसेको छ।

उनी भन्छन्, ‘बुबा पनि इन्डियन आर्मीबाटै रिटायर्ड हो, बुबा यहाँ आउन मान्नुहुन्न, छाडेको ठाउँ जानुहुन्न भन्नुहुन्छ।’
गाउँ फर्किने सोच
दुई वर्ष पहिला हरि बस्नेत झापाको दमकबाट आफ्नो जन्मस्थल भोजपुर (भोजपुर-९, गैरीगाउँ) घुम्न पुगे। मधेसको प्रचण्ड गर्मी खेपेका बस्नेतको मन भोजपुरको चिसो हावापानीले जित्यो। यसपछि उनले फेरि भोजपुरमै जग्गा किन्ने सोच बनाए।
पहिला पुर्ख्यौली घर भएको ठाउँतिर जग्गा खोजे। तर आफन्तले नबेच्ने भनेपछि उनकै मामाका छोराले देखाइदिएको जग्गा किने। सुरुमा उनले आफू बस्नका लागि मात्र घर बनाउन थाले। तर बनाउँदै जाँदा बस्नेत दम्पती होमस्टे सञ्चालन गर्ने सोचमा पुग्यो।

यस क्रममा बस्नेत पर्यटन कार्यालय (धरान) पुगे र होमस्टे सञ्चालन प्रक्रियाबारे जानकारी लिए। त्यसपछि उनले होमस्टे दर्ता प्रक्रिया थाले।पर्यटन कार्यालयबाट गएको कर्मचारी टोलीले होमस्टेको अनुगमन गरेपछि मात्र उनले स्वीकृत पाए।
‘स्वीकृति दिने बेलामा तपाईँले कस्तो खुवाउनु हुन्छ, के सेवा दिनुहुन्छ, कति लिनुहुन्छ भनेर मलाई पर्यटन कार्यालयले सोधेको थियो’, उनले भने, ‘आउनेबित्तिकै चिया, कफी उपलब्ध गराउने, कोठा दिने, बेलुका जे इच्छाको खाना खानुहुन्छ खुवाउने, अर्को दिन बिहानको खाजा र चिया दिने र एकजना मान्छेको १४ सय रुपैयाँ लिने भनेर मैले भनेँ।’

धेरैले उनको होमस्टेलाई ‘स्टार होमस्टे’ भन्छन्। त्यो भन्नुको कारण महँगो भएकाले हो।
पाहुना आउँदा उनी स्थानीय कुखुराको भाले, तरकारी, घिउ, सागसब्जी खोज्न निस्कन्छन्।
भन्छन्, ‘गाउँघरमा जे पाउँछ, आफ्नो घरमा जे पाउँछ, त्यही खोजेर ल्याउँछु, त्यही कुरा नै पाहुनालाई खुवाउँछु।’
होमस्टे खोल्ने योजना
श्रीमान्-श्रीमतीबीच कुरा भयो- घर मात्र बनाएर नबसौँ, घरलाई होमस्टेका रूपमा विकास गरौँ।
बस्नेत घुम्दै जाने क्रममा श्रीअन्तुको होमस्टेबाट प्रभावित भएका हुन्। त्यहाँ गरेको स्वागत, सत्कारलगायत कुराले यस्तो होमस्टे आफ्नै घरलाई बनाउन सकिन्छ भन्ने उनलाई लाग्यो।
‘गाउँघरमा अब खेती-किसानी त गर्न सकिँदैन’, उनले भने, ‘घरमै होमस्टे सञ्चालन गरौँ न त भनेर सुरु गरेको हो।’
उनले गाउँमा ४ रोपनीको पाखै किनेका छन्। भोजपुर-लेगुवा सडकले छोएको जग्गा कूल ८१ लाख रुपैयाँमा किनेको उनी सुनाउँछन्।
संरचना बनाउन ६५ लाखजति लागेको र अझै बनाउन बाँकी रहेको बस्नेतको भनाइ छ।
‘जग्गा किन्न, घर बनाउन डेढ करोड हाराहारीमा खर्च भएको छ, बस्नेत भन्छन्, ‘नजिकै हरियाली भएको र गहिरो ठाउँमा रहेकाले पनि यसको नामै ग्रिनभ्याली होमस्टे राखिदिएँ।’
उनले होमस्टे सेवा सुरु गरेको ७ महिना भयो। बेलाबेला पाहुना आउने गरेका छन्।
कसैले राम्रो भन्छन्, कसैले मन पराउँदैनन्। एकै खालको पाहुना आउने उनको अनुभव छ।
आगामी लक्ष्य
बस्नेतका सबै आफन्त झापामै छन्। उनकी छोरी काठमाडौँमा स्नातकोत्तर पढ्दै छिन्। छोरा पनि स्नातक गर्न काठमाडौँ जाँदै छन्।
होमस्टेमा उनकी श्रीमती देवी बस्नेत सहारा बनेकी छन्।
अझै धेरै समय सक्रिय रूपमा काम गर्न सकिने उनको आत्मविश्वास छ।
भन्छन्, ‘अहिले नै बुढेसकाल लाग्यो भनेर सुत्नु त भएन नि! छोराछोरीको भविष्य बनाउनु छ।’
रोजगारीका लागि छोराछोरीले विदेश जानु नपरोस् भन्ने उनको सोच छ।
उनी भन्छन्, ‘मैले त अरूको देशमा दु:ख गरेँ, तर छोराछोरीले आफ्नै देशमा केही गरुन् भन्ने चाहनाका साथ यसलाई व्यवस्थित गर्न अघि सरेको हुँ।’
होमस्टेका लागि अझै दुईचारवटा संरचना थप्ने योजना रहेको उनले सुनाए।
उनले भने, ‘यहाँ भोजपुरमा पार्टी, विवाह कार्यक्रम हुँदा एकडेढ सय जना अटाउने खालको हल छैन, त्यसको आवश्यकता पूरा गर्न सक्छु भन्ने लागेको छ।’
उनका अनुसार दमक, काँकडभिट्टा, विराटनगरबाट मात्र होइन, अमेरिका, क्यानडा, फ्रान्स बसेकाहरू पनि कामले भोजपुर आउँदा उनको होमस्टेमा खाने, बस्ने गरेका छन्।
हाल होमस्टेमा १८ जनासम्म अटाउने क्षमता रहेको उनले बताए।
अहिले घुर्मी-कटारी सडक धुलैधुलो तथा गाईघाट-दिक्तेल सडक पनि बन्द भएकाले कोसी पूर्व भएर हलेसी जानेहरूका लागि यो सडक सहज भएकाले होमस्टेमा आउनेको संख्या बढेको बस्नेत सुनाउँछन्।
Shares

प्रतिक्रिया