कर्णाली


माल्टा पठाउँछु भन्दै ठगी : दर्ता भएन कमानसिंहविरुद्धको उजुरी

अधिवक्ता भन्छन्- जाहेरी गइसकेपछि दर्ता गर्नुपर्छ, प्रहरी भन्छ- बुझ्दै छौँ
माल्टा पठाउँछु भन्दै ठगी : दर्ता भएन कमानसिंहविरुद्धको उजुरी

दिनेश बुढा
साउन १०, २०८० बुधबार १९:१६, सुर्खेत

रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने कमानसिंह कामीविरुद्ध दिएको ठगीको जाहेरी दर्ता हुन सकेको छैन। पीडितहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा असार ९ गते दिएको जाहेर अहिलेसम्म पनि दर्ता नभएको हो।
 

विभिन्न सपना र प्रलोभन देखाएर सुर्खेतको गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका केही नागरिकलाई गुर्भाकोट नगरपालिका–९ का कमानसिंहले ठगेका थिए।

ती पीडितहरूले ‘रकम ठगी गर्ने योजना बनाई जालप्रपञ्च रची, झुक्याई धोका दिई गफलतमा पारी, बेइमानी तवरले माल्टा पठाइदिन्छु भनी नोक्सान र आफूलाई फाइदा हुनेगरी रकम लिएर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को २४९ विपरीत कसुर गरेकाले कमानसिंहलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरीपाऊँ’ भन्दै जाहेरी दिएका थिए।

यसरी जाहेरी दिनेमा जसमा गुर्भाकोट नगरपालिका–३ बस्ने लक्ष्मी पुन, वडा नम्बर ४ सहारे बस्ने हरिबहादुर वली,  गुर्भाकोट–९ बोटेचौरका दीपक वली, नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री र गुर्भाकोट नगरपालिका–११ बस्ने शेरबहादुर पुन मगर, भेरीगंगा नगरपालिका–८ खिमबहादुर डीसी र भेरीगंगाकै वडा नम्बर ६ का रमेश पुन मगर रहेका छन्। 

पीडितहरूले जाहेरीमा ‘कमानसिंह कामी चिनजानको मान्छे भए तापनि उनले २०७९ मंसिरदेखि आफू भारतको दिल्लीमा रहेको मेनपावरसँग मिलेर काम गर्न थालेको र माल्टाका विभिन्न कम्पनीमा मासिक ३ लाख ९० हजार नेपाली रुपैयाँसम्म तलब पाउने गरी १५/२० जना कामदार पठाउने जिम्मा पाएको भनी झुक्याएको’ आरोप पनि लगाएका छन्।

तर, जाहेरी दिएको २४ घण्टा बित्तिसक्दासमेत जिल्ला प्रहरी कार्यालय सुर्खेतले कुनै सुनुवाइ नगरेको पीडितहरूले गुनासो गरेका छन्।

पीडित हरिबहादुर वलीले जोहरी दर्ता नभएको नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गरेको छैन्। दर्ता एक दिनमै हुन्छ भनेको थियो। तर, दर्ता नगर्नुको केही कारण त होला राजनीतिक दबाब वा पावर पनि हुनसक्छ हामीलाई कुनै जानकारी छैन्।’

यता जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीले पीडितहरुले दिएको जाहेरीमाथि अध्ययन भइरहेको जानकारी दिए।

‘९ जना पीडितहरुले जाहेरी दिनुभएको छ। अन्य केही व्यक्तीहरू पनि ठगिएको भन्दै आउने क्रम जारी छ। हामी यस जाहेरीको विषयमा राय खोज्दै छौँँ,’ उनले भने,  ‘यो मुद्धा यहाँ नभएर श्रम तथा रोजगार मन्त्रालयमा दर्ता हुन पनि सक्छ। तर, यहाँ दर्ता हुन्छ हुँदैन् हामी बुझ्दै छौँ। अध्ययन गर्दैछौं।’

अधिवक्ता नन्द भण्डारीले प्रहरीले जाहेरीका आधारमा मुद्धा दर्ता गर्नुपर्ने बताए। 

‘जाहेरी गइसकेपछि प्रहरीले अवस्था रहेर दर्ता गर्नुपर्ने हुन्छ। केही कुरा बुझ्नुपर्ने भए प्रहरी बुझ्छ,,’ उनले भने, ‘कानुनले यदी जाहेरीमा कसुरदार भाग्ने र प्रमाण लोभ हुने अवस्था छ भने तुरुन्तै दर्ता गर्नुपर्ने भन्छ। नभए अन्य बुझ्नुपर्ने छ भने बुझेर यकिन गरेर दर्ता गर्न सकिन्छ।’

जाहेरी:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .