कर्णाली


माल्टाको सपना देखाई ठगी : कमानसिंह कामीविरुद्ध जाहेरी (पत्रसहित)

माल्टाको सपना देखाई ठगी : कमानसिंह कामीविरुद्ध जाहेरी (पत्रसहित)

कमानसिंह कामी (दायाँ) र उनीविरुद्ध जाहेरीको पहिलो पृष्ठ


दिनेश बुढा
साउन १०, २०८० बुधबार ८:२५, सुर्खेत

राम्रो रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सुर्खेतका कमानसिंह कामीविरुद्ध पीडितहरूले प्रहरीमा जाहेरी दिएका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालयमा मंगलबार (असार ९ गते) सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का ४३ वर्षीय कामीविरुद्ध जाहेरी दिएका हुन्। 

जाहेरी दिनेहरूमा गुर्भाकोट नगरपालिका वडा नम्बर ३, ४, ९, ११ र भेरीगंगा नगरपालिका–६ र ८ नम्बर वडाका गरी जम्मा ९ जना छन्।

जसमा गुर्भाकोट नगरपालिका–३ बस्ने लक्ष्मी पुन, वडा नम्बर ४ सहारे बस्ने हरिबहादुर वली,  गुर्भाकोट–९ बोटेचौरका दीपक वली, नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री र गुर्भाकोट नगरपालिका–११ बस्ने शेरबहादुर पुन मगर छन्।  

यस्तै भेरीगंगा नगरपालिका–८ खिमबहादुर डीसी र भेरीगंगाकै वडा नम्बर ६ का रमेश पुन मगरले कामीविरुद्ध ठगी मुद्दामा जाहेरी दिएको पीडित हरिबहादुर वलीले जानकारी दिए। 

पीडितहरु

जाहेरीमा उनीहरूले कमानसिंह कामी चिनजानको मान्छे भए तापनि उनले २०७९ मंसिरदेखि आफू भारतको दिल्लीमा रहेको मेनपावरसँग मिलेर काम गर्न थालेको र माल्टाका विभिन्न कम्पनीमा मासिक ३ लाख ९० हजार नेपाली रुपैयाँसम्म तलब पाउने गरी १५/२० जना कामदार पठाउने जिम्मा पाएको भनी झुक्याएको आरोप लगाएका छन्। 

यस्तो छ जाहेरी
अन्यायी हामी जाहेरवालाका चिनजानका मानिस हुन्। निज अन्यायीले विभिन्न मेन पावरसँग मिलेर गाउँघरका युवा तथा युवतीहरूलाई कहिलेकाहीँ विदेशमा पठाउने गर्ने गरेका थिए। यसै क्रममा मिति २०७९ साल मंसिर महिनादेखि निज अन्यायीले हामीहरूलाई भेटी मैले भारतको दिल्लीमा रहेका मेनपावरसँग मिलेर काम गर्न थालेको छु। हाल विदेश माल्टाका विभिन्न कम्पनीमा मासिक रु ३,९०,०००/- अक्षरूपी तीन लाख नब्बे हजार नेपाली रुपैयाँसम्म तलब पाउनेगरी कामदारको लागि माग भएकाले मेरो भागको कोटामा पनि १५/२० जना कामदार पठाउने जिम्मा मेरो रहेकाले तपाई‌ंहरू पनि मेरो चिनजानका गाउँले मानिस भएकाले म तपाईंहरूको जिम्मा लिन्छु।

तपाईंहरू पनि गाउँमा बस्नभन्दा विदेश माल्टा गएर कमाइकाज गर्नुहोस्। विदेश माल्टा जानको लागि रु १०,००,०००/- अक्षरूपी दस लाख रुपैयाँ लागत लाग्छ भनी हामी जाहेरवालालाई विभिन्न प्रलोभन देखाएकाले हामी जाहेरवालाहरूले पनि हुन्छ भनेपछि निज अन्यायीले तपाईंहरूले मलाई सुरुमा २,००,०००/- अक्षरूपी दुई लाखका दरले पेस्कीस्वरूप मेरो ग्लोबल आईएमई बैंकको खाता नं २६००७०१०००१८७८ मा रकम जम्मा गरिदिनुहोस्, म तपाईंहरूलाई विदेश माल्टा पठाउने प्रक्रिया सुरु गर्छु भनेकाले हामी जाहेरवालाले तपसिलमा उल्लिखित रकम तपसिलको मितिमा अन्यायीको नामको बैंक खातामा जम्मा गरेपछि अन्यायी म तपाईंहरूलाई विदेश माल्टा पठाउने प्रक्रिया मिलाएर आउँछु भनी भारतको दिल्ली गई केही समयपछि घरमा आई तपाईंहरूलाई विदेश माल्टा जानको लागि अफर लेटर र पर्मिट लेटर आएको छ भनी हामी जाहेरवालालाई मिति २०७९ साल माघ महिनादेखि मिति २०८० साल जेठ २० गतेसम्म सै अफर लेटर र पर्मिट लेटर दिई अब तपाईंहरू विदेश माल्टा जानको लागि सम्पूर्ण रकम तयारी गरी बस्नु होला केही समयमै विदेश माल्टा उड्नुपर्छ भनेकाले अन्यायीको विश्वासमा परी कुरी बसेकामा सोपश्चात निज अन्यायीले हामीसँग भेटघाट नगर्ने, हामीले गरेको फोन पनि नउठाउने, निज अन्यायीलाई भेट्न घरमा जाँदासमेत हामीबाट भागीभागी हिँड्ने गरेकाले माथि उल्लिखित मिति समय निज अन्यायी घरमा आएको थाहा पाई हामी जाहेरवाला अन्यायीको घरमा गई निज अन्यायीसँग भेट गरी तपाईंले हामीलाई विदेश माल्टा पठाउँछु अनि हामीबाट रकम लिइसक्नुभएको छ, हाम्रो विदेश जाने काम कहाँसम्म पुग्यो भन्दा निज अन्यायीले मलाई चाहिनेजति रकम तपाईंहरूबाट ठगी गर्ने योजना बनाई भारतको दिल्लीमा गई झुट्टा अफर लेटर, पर्मिट लेटर बनाई तपाईंहरूलाई दिएको हुँ, मलाई चाहिने जति रकम लिइसकेँ, अब मलाई केही मतलब छैन, जहाँ गई जे गर्न सक्नुहुन्छ गर्नुहोस् भने। 

अब ठगी गरेको एकिन भएकाले अन्यायमा परी यो जाहेरी ल्याएका छौँ। निज अन्यायीले हामीबाट रकम ठगी गर्ने योजना बनाई जालप्रपञ्च रची, झुक्याई धोका दिई गफलतमा पारी, बेइमानी तवरले विदेश माल्टा पठाइदिन्छु भनी तपसिलमा उल्लिखित हामी जाहेरवालासँग रकम लिई हामीलाई नोक्सान र आफूलाई फाइदा हुनेगरी उल्लिखित रकम लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को २४९ विपरीत कसुर गरेकाले निज अन्यायीलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरीपाऊँ।

कमानसिंह कामीले ९ जनासँग लिएको रकम विवरण 

पीडितहरूले जाहेरीसँगै घटनासँग सम्बन्धित प्रमाणस्वरूप नेपाली नगरिकताको प्रमाणपत्र ९ थान, अफर लेटर, पर्मिट लेटर र अन्यायीहरूको खातामा रकम जम्मा गरी पठाएको भौचर रसिद समेतको फोटोकपि पेस गरेका छन्। ती कागजात नेपालखबरले यसअघि नै सार्वजनिक गरिसकेको छ।

पीडितहरूले प्रहरीद्वारा अनुसन्धान हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत आवश्यक परे आफूहरू उपस्थित हुने कुरा जाहेरीमा लेखेका छन्। 

‘एक/दुई दिनमा मुद्दा दर्ता हुन्छ’
पीडितहरूका अनुसार जिल्ला प्रहरी कार्यालय (सुर्खेत) ले उक्त जाहेरी एक÷दुई दिनमा दर्ता गर्ने आश्वासन दिएको छ। पीडित हरिबहादुर वलीले आफूहरूले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले मुद्दा छिट्टै दर्ता हुने बताएको जानकारी दिए। 

सम्बन्धित खबर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .