कर्णाली


न माल्टाको भिसा, न अढाई लाख फिर्ता

एकै व्यक्तिबाट ठगिए १९ जना
न माल्टाको भिसा, न अढाई लाख फिर्ता

पीडितहरू


दिनेश बुढा
साउन ७, २०८० आइतबार १४:५८, सुर्खेत

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का ३७ वर्षीय तुलबहादुर बुढा स्थानीय बोटेचौरमा फेन्सी (कपडा) पसल सञ्चालन गर्थे। रोजगारीका लागि सन् २०१० मा मलेसिया गएका उनी त्यहाँ ३ वर्ष बसेर स्वदेश फर्किएका थिए। 

स्वदेशमै केही गर्नुपर्छ भनेर उनले बोटेचौरमा सुरु गरेको कपडा व्यवसाय राम्रै चलिरहेको थियो। तर यहीबीच उनलाई छिमेकी कमानसिंह कामीले राम्रो कमाइका लागि युरोपियन मुलुक माल्टा जान सुझाव दिए। खुसी हुँदै बुढाले तत्कालै सहमति जनाए। 

तुलबहादुर बुढा

त्यसपछि कमानसिंहले आफ्ना जेठान नाता पर्ने दाङ घर भएका यामबहादुर विकमार्फत मात्रै माल्टा जान सकिने बताए। अनि तुलबहादुरले भने, ‘हामीले तपाईं (कमानसिंह) लाई मात्रै चिनेका छौँ। अरूलाई चिन्दैनौँ। हाम्रो एजेन्ट भने पनि, आफ्नो मान्छे भने पनि तपाईं नै हो।’

कमानसिंहले माल्टा पठाउन आफ्नो कम्पनीको कार्यालय भारतको दिल्लीमा रहेको बताए। तुलबहादुर सुनाउँछन्, ‘दिल्लीमा कम्पनी छ भनेर हामीलाई भनिएको थिया। म्यान पावरको नाम र कम्पनीको नाम के हो? कार्यालय कहाँ छ भन्ने कुरा थाहा नै भएन।’

यामबहादुर विक

यस्तै रोजगारीका लागि माल्टा जाने भनेर सुर्खेत, सल्यान र दाङ जिल्लाका गरेर १९ जना कमानसिंहको सम्पर्कमा पुगेको तुलबहादुर बताउँछन्। उनले भने, ‘हामी प्रत्येकले दुई लाख रुपैयाँ ग्लोेबल आईएमई बैंकमा जम्मा गरेका थियौँ। मसहित अन्य तीन जनाले गत पुस २१ गते एकमुस्ट ६ लाख रुपैयाँ पठाएका थियौँ।’

उनका अनुसार आफूसहित १९ जनालाई माल्टामा चकलेट फ्याक्ट्रीमा मासिक २८ सय युरो (नेपाली रुपैयाँ ३ लाख ९४ हजारभन्दा बढी) तलब पाउने आश्वासन दिइएको थियो। 

माल्टाबाट चक्लेट फ्याक्ट्रीका लागि आएको पत्र

त्यसपछि तुलबहादुरसहित १९ जनालाई नै मार्च २८ (२०२३) मा माल्टा उडाउने भनी  कमानसिंहले भारतको दिल्लीमा बोलाए। तुलबहादुर सुनाउँछन्, ‘हामी सबै १९ जना माल्टा जाने भनेर दिल्ली पुग्यौँ। त्यहाँ पुगेपछि विभिन्न बहानामा हामी प्रत्येकबाट थप ५० हजार रुपैयाँ उठाइयो। २५ दिनभित्र माल्टा उडान हुने भनेपछि हामी फर्कियौँ। तर, २५ दिनभन्दा बढी भइसक्दा पनि कुनै खबर आएन।’

पैसा बुझाएका १९ जनामध्ये कसैको पनि माल्टाको भिसा नआएपछि तुलबहादुर र नन्दलाल घर्तीलाई कमानसिंहले माल्टाकै अर्को कम्पनी काब्रो कन्स्ट्रक्सनमा फुड प्याकिङ कामका लागि पठाउने आश्वासन दिए। नभन्दै भिसाको अफर लेटर र वर्क परमिट गत वैशाख २६ गते आइपुगे। तर ती सबै नक्कली थिए। 

काब्रो कन्स्ट्रक्सनमा फुड प्याकिङ कामका लागि आएको नक्कली पत्र

‘हामी त अब माल्टामा रोजगारीका लागि जान पाउने भयौँ भनेर खुसी भयौँ। तर, धेरै सयमसम्म कमानसिंहले पठाउनका लागि कुनै सुरसार गरेनन्। पछि अन्य माल्टा पठाउने कम्पनीमा बुझेपछि ठगिएको थाहा पायौँ।’

यस्तै गुर्भाकोट नगरपालिका–९ कै ३४ वर्षीया लक्ष्मी पुन मगर पनि आफ्नै गाउँमा किराना र नास्ता पसल गरेर गुजारा चलाइरहेकी थिइन्। उनी पनि गाउँकै आफन्तहरूसँग विदेश त्यो पनि माल्टा जान पाउने भनेपछि गरिराखेको व्यवसाय छाडिन्। विदेश गएर धेरै पैसा कमाउने कल्पनामा उनी रमाउन थालिन्। एकल महिला उनी अन्ततः विदेश (माल्टा) जाने निधोमा पुगिन्। अनि कमानसिंहले भनेअनुसारका काम गरिन्। 

लक्ष्मी भन्छिन्, ‘हाम्रो छिमेकी भएकाले उहाँ (कमानसिंंह) को विश्वास गर्‍यौँ। पाँच वर्षदेखि सञ्चालन गरिहरेको नास्ता पसल र किराना पसल बेचेँ। पैसा फस्दैन होला भनेर विश्वास गरेँ। त्यसमाथि मामा (तुलबहादुर बुढा) पनि सँगै विदेश जाने भनेपछि माल्टा जाने प्रक्रियामा लागेँ।’ 

अन्ततः तुलबहादुर, नन्दलालसँगै लक्ष्मी पनि ठगिइन्।

माल्टा भनेर कमानसिंहबाट ठगिनेमा तुलबहादुर बुढा, शेरबहादुर पुन मगर, नन्दलाल घर्ती, लक्ष्मी पुन, दीपक वली, कमल वली, छविकुमार खत्री, गुर्भाकोट–४ का हरिबहादुर वली, सल्यानको शारदा नगरपालिका–४ सुम्ताकुराका छविन्द्र रोकालगायत छन्। माल्टाको सपनामा उनीहरूसहित जम्मा १९ जना ठगिएको पीडितहरूको भनाइ छ।

साथै सिंगापुर पठाउँछु भनी गुर्भाकोट नगरपालिकाकै कीर्तिलाल डाँगी, खुमबहादुर वली, सल्यानको शारदा नगरपालिकाका–४ का मायाकुमारी गिरी र सुशिला योगीलगायतलाई पनि कमानसिंहले ठगेको आरोप छ। माल्टाका लागि भनेर प्रत्येक व्यक्तिबाट २ लाख ५० हजार र सिंगापुरका लागि भनेर जनही २ लाख ६७ हजार रुपैयाँ कामनसिंहले लिएको पीडितहरूको आरोप छ। 

सम्पर्कमा छैनन् कमानसिंह 
यतिबेला कमानसिंह वैदेशिक रोजगारीका लागि माल्टा र सिंगापुर पठाइदिने भनी आफूले रकम लिएका व्यक्तिहरूको सम्पर्कमा छैनन्। गत असारमा उनीसँग अन्तिमपटक ह्वाट्सएपमा कुरा भएको र त्यसयता उनी कहाँ छन्, कुनै पत्तो नभएको पीडितहरू बताउँछन्। 

कमानसिंह कामी

गत असारमा फोनमार्फत तुलबहादुरले कमानसिंह कामीसँग आफूसहित अन्य साथीहरूको समस्याबारे आफूले कुराकानी गरेको बताए। उनले भने, ‘साथीहरू रिसाएका छन्। ४८ घण्टाभित्र पैसा फिर्ता दिनुपर्छ भनेको थिएँ। जवाफमा कमानसिंहले भन्नुभयो– तपाईंले भनेको कुरामा म गम्भीर छु। तपाईंहरू आजसम्म पर्खिनुभएको छ। अझै केही दिन पर्खिनुहोस्। हामी पनि फस्यौँ, तपाईंहरू पनि फस्नुभएको छ। हामीले चार/पाँच दिनमा त्यहाँ आएर तपाईंहरूसँग बसेर चेक बनाउने कि कागज बनाउने जस्ता विषयमा छलफल गरौँला, तपाईंलाई पैसा दिदैनौँ। चिन्दैनौं पनि भनेका छैनौँ।’ 

आफूहरूले बारम्बार ताकेता गरेपछि कमानसिंहले ‘कतैबाट भए पनि पैसाको व्यवस्थापन गर्छु भनेकै छु। के गर्नुहुन्छ? काट्नुहुन्छ कि मार्नुहुन्छ?’ भनेको उनी बताउँछन्। 

अहिले कमानसिंहको मोबाइल नम्बर ९८४८२०९६९५ र उनका जेठान यामबहादुर विकको मोबाइल नम्बर ९८०६५८१९०८ मा फोन गर्दा सम्पर्क नहुने पीडितहरू बताउँछन्।  

दोहोरो तनावमा छु : मैना विक 
उता कमानसिंहकी पत्नी मैना विक भने यो घटनापछि आफू दोहोरो तनावमा परेको बताउँछिन्। उनीहरूबाट आफ्ना श्रीमान्‌ले पैसा लिएको स्वीकार गर्दै मैना भन्छिन्, ‘मलाई वैदेशिक रोजगारको बारेमा कुनै जानकारी छैन। उहाँ (कमानसिंह) को श्रीमती भएका कारण भन्दै छु– उहाँहरूले पैसा हालेको सत्य हो। म आफैँ पीडित छु। उहाँहरूले पैसा फिर्ता मागेपछि उहाँ (कमानसिंह) एक महिनादेखि मेरो सम्पर्कमा हुनुहुन्न। म अर्को तनावमा छु। म उहाँहरूको पैसा फिर्ता दिलाउन प्रयत्न गरिरहेको छु। उहाँहरूले उहाँ (कमानसिंह) लाई ठगीको मुद्दा हाल्ने, के–के दफा लगाउन सकिन्छ त्यो पनि छुट छ।’ 

थप कागजात

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .