कर्णाली


सुर्खेत-२: थानीले मैदान खाली गर्दा कोइरालाले पाए अवसर, एमाले र नेकपाको भन्दा पूर्वसहकर्मीकै डर

सुर्खेत-२: थानीले मैदान खाली गर्दा कोइरालाले पाए अवसर, एमाले र नेकपाको भन्दा पूर्वसहकर्मीकै डर

सुर्खेत-२ का मुख्य ४ उम्मेदवार: नारायण काेइराला (कांग्रेस), झक्कबहादुर मल्ल (नेकपा), कुलमणि देवकोटा (एमाले) र रमेशकुमार सापकोटा (रास्वपा)


दिनेश बुढा
माघ १८, २०८२ आइतबार १४:३५, सुर्खेत

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ मा मुख्य राजनीतिक दलहरूले नयाँ अनुहार मैदान उतारेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नयाँ उम्मेदवार अगाडि सार्दा सुर्खेत-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मुख्यप्रतिस्पर्धीका रूपमा देखिएको छ। किनकि रास्वपाले कांग्रेस पृष्ठभूमिकै रमेशकुमार सापकोटालाई यहाँ उम्मेदवार बनाएको छ।

यसपटक यस क्षेत्रमा चुनावी माहोल रोचक बनेको छ। 

एमालेले पार्टीका सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटालाई उठाएको छ भने कांग्रेसले युवा नेता नारायण कोइरालाई अघि सारेको छ। यस्तै नेकपाबाट झक्कबहादुर मल्ल ‘सुदीप’ चुनावी मैदानमा छन्।

यसपटक सुर्खेत-२ मा उनीहरूसहित जम्मा १७ जना उम्मेदवार छन्।

अन्य उम्मेदवारमा नेत्रविक्रम चन्द विल्लव नेतृत्वको नेकपा माओवादीबाट धर्मराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट पवन थापामगर, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेकपा संयुक्तबाट प्रेमबहादुर तारामी मगर, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रायमाझी, नेपाल जनसेवा पार्टीबाट हृदयचन्द्र अधिकारी, राप्रपाबाट कविराम पुरी, उज्यालोपार्टी नेपालबाट गम्भीरसिंह भुल, नेपाल मजदुर किसान पार्टीबाट तुल्सी खड्का, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट दीपबहादुर नेपाली छन्। 

साथै स्वतन्त्रबाट उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियार सुर्खेत-२ को चुनावी मैदानमा छन्।

तर यहाँ मुख्य प्रतिस्पर्धा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच हुने देखिएको छ। 

कांग्रेसबाट उम्मेदवार बनेका कोइराला रेडियो भेरीका अध्यक्ष पनि हुन्।

सुर्खेतको वीरेन्द्रनगर-९ का स्थायी घर भएका उनी कांग्रसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय बनेका थिए। कांग्रेसको पूर्वक्षेत्रीय सभापतिसमेत रहेका उनले सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

२०५१ सालदेखिका सबै निर्वाचनमा उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले मैदान खाली गरेपछि कोइरालाले मौका पाएका हुन्। उम्मेदवार कोइराला थानीकै विश्वास पात्र मानिन्छन्। दुवै पार्टी सभापति गगन थापाका निकट व्यक्ति हुन्। थानी कोराइलाका राजनीतिक गुरु पनि हुन्। 

कोइरालालाई एमाले-नेकपाको भन्दा रास्वपाबाट उम्मेदवार बनेका आफ्नै पूर्वसहकर्मी सापकोटाको डर छ। 

किनकि रास्वपाका सुर्खेत जिल्ला सभापति सापकोटा यस पार्टीमा आबद्ध हुनुअघि कांग्रेसकै वीरेन्द्रनगर नगर समितिका सचिव थिए।

यातायात व्यवसायी सापकोटा काँक्रेविहार यातायात प्रालिका अध्यक्ष पनि हुन्। उनले मतदाताबाट रास्वपा र आफूप्रति सकरात्मक प्रतिक्रिया आइरहेको दाबी गरे। 

यस्तै एमाले उम्मेदवार देवकोटा पनि नयाँ अनुहार हुन्। यसअघि उनले कुनै पनि संसदीय चुनाव लडेका छैनन्।

एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्ष देवकोटाले लामो समय सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको नेतृत्वमा रहेर यहाँ हरेक नागरिकका घरघरमा पानी पुर्‍याएका थिए। 

‘एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामले जनता हाम्रो पार्टीसँग नजिक छन्’, देवकोटाले नेपालखबरसँग भने, ‘गुगलमा हैन, ग्रामीण क्षेत्रमा हाम्रो संगठन बलियो छ। एमालेका मत दायाँबायाँ हुँदैनन्।’

नेकपाका उम्मेदवार मल्ल दशक लामो सशस्त्र संघर्षको अग्रमोर्चामा रहेर काम गरेका नेता हुन्। 

२०३६ मंसिर २२ गते बराहताल गाउँपालिका-४ तरंगामा जन्मिएका मल्लले १४ वर्षकै उमेरमा २०५० सालमा विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका थिए।

जनयुद्धमा सामेल भएका उनी ०५५ सालमा अखिल क्रान्तिकारीको सुर्खेत जिल्ला अध्यक्ष, सोही साल तत्कालीन नेकपा माओवादीको जिल्ला सदस्य भएका थिए।

जनयुद्धका बेला २०५७ भदौमा तत्कालीन सरकारले उनीसहित १५ जना विद्यार्थी नेतालाई पक्राउ गरेर सुर्खेत जेलमा हालेको थियो। गिरफ्तारीपछि ३५ दिन हिरासत र त्यसपछि जेल जीवन भोगेका मल्ललगायत विद्यार्थी नेताहरूले २०५८ माघ २ गते सुर्खेत जेलब्रेक गरेका थिए। 

पहिलोपटक प्रतिनिधि सभा निर्वाचन लड्न लागेका उनी अहिले नेकपाका केन्द्रीय सदस्य हुन्।

‘गुणस्तरीय शिक्षाका लागि प्रत्येक पालिकामा आईटी कलेज स्थापना गरी प्रविधिमैत्री, व्यावहारिक र रोजगारीमुखी शिक्षामा पहुँच पुर्‍याउने मेरो योजना छ’, उम्मेदवार मल्लले नेपालखबरलाई सुनाए, ‘स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकास्तरमा विशेषज्ञसहितका स्वास्थ संस्था स्थापना, उज्यालो सुर्खेत र समृद्ध भविष्यका लागि टोलटोलमा सडक र सिँचाइ, घरघरमा बिजुली र खानेपानीको सुविधा पुर्‍याउने मेरो योजना छ।’  

यस्तो छ विगतका चुनावी अंकगणित 
यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा माओवादीसँगको गठनबन्धनबाट साझा उम्मेदवार बनेका एमालेका नवराज रावत विजयी भएका थिए।

निर्वाचित रावतले ३७ हजार ४४७ मत ल्याउँदा पराजित कांग्रेसका हृदयराम थानीले २८ हजार ६४६ मत पाएका थिए।

२०७९ को निर्वाचनमा फेरि थानीले एमालेका अमृत कुमार बिसीलाई हराउँदै अघिल्लो हारको बदला लिए।

त्यतिबेला कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समावादी गठबन्धनका साझा उम्मेदवार बनेका उनले ३४ हजार ६२५ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी बिसीले २९ हजार ५५८ मत ल्याएका थिए। 

थानीले यस निर्वाचन क्षेत्रबाट तीनपटक (०५६, ०७४ र ०७९) संसदीय चुनाव जितिसकेका छन्। 

२०७९ को निर्वाचनमा समानुपातिक मत परिणाम हेर्दा भने एमाले नै अगाडि छ।

त्यसबेला समानुपातिकतर्फ एमालेले २५ हजार ८६ मत ल्याउँदा कांग्रेसले २३ हजार १० भोट पाएको थियो। 

यस्तै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको संयुक्त १० हजार ५९, राष्ट्रिय स्वतन्त्र पार्टीको ६ हजार १४६, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३ हजार ९७५ र नेकपा एकीकृत समाजवादीको २ हजार ५०७ मत थियो। 

सुर्खेत निर्वाचन क्षेत्र-२ मा वीरेन्द्रनगर नगरपालिकाकाका १४ वटा वडा, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्छन्। 

आगामी निर्वाचनका लागि १ लाख २६ हजार ४१ मतादाता रहेको यस क्षेत्रमा ६८ मतदान स्थल र १५४ मतदानकेन्द्र तोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad