कर्णाली


कर्णाली अपडेट: अहिलेसम्म १६८ जनाले गरे मतदान

कर्णाली अपडेट: अहिलेसम्म १६८ जनाले गरे मतदान

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल


नेपालखबर
माघ ११, २०८२ आइतबार ११:३१, काठमाडौँ

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा पनि आज बिहान ९ बजेदेखि मतदान जारी छ।

निर्वाचन कार्यालयका अनुसार बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरिसकेका छन्।

जसमा प्रदेशसभा सदस्यतर्फ : महिला १३ र पुरुष २५ गरी जम्मा ३८ र स्थानीय तहतर्फ महिला ४९ र पुरुष ८१ जम्मा १३० जनाले मतदान गरिसकेका हुन्। 

कर्णालीबाट २ जना राष्ट्रियसभा सदस्य चुनिँदै छन्। 

त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा छ।

उनीहरूका २/२ उम्मेदवार गरी २ सिटका लागि ४ जना प्रतिस्पर्धामा छन्।

कांग्रेस-एमाले गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल उम्मदेवार छन् भने नेकपाबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही प्रतिस्पर्धामा छन्। 

कर्णाली प्रदेशमा महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्माको पदावधि फागुनमा सकिँदैछ। बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।

यस्तो छ अंकगाणित

कर्णालीमा प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा कांग्रेस–एमालेको बहुमत छ। यी दुई दलको कुल मतभार ३ हजार ५८ छ।

कर्णालीमा मतभारमा कांग्रेस सबैभन्दा अगाडि छ भने दोस्रो नेकपा र तेस्रो एमाले छन्।

राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ।

जसअनुसार कर्णालीमा नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार १२२ छ।

कर्णालीमा कांग्रेससँग प्रदेशसभातर्फ १५ सांसद र ५९ पालिका प्रतिनिधि गरी कुल १ हजार ९११ मतभार छ।

यस्तै तत्कालीन माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्य र ४८ पालिका प्रतिनिधि गरी कुल १ हजार ६०१ मतभार छ।

तत्कालीन एकीकृत समाजवादीको एक प्रदेशसभा सदस्यको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर जम्मा २४३ मतभार छ।

यसो हुँदा नेकपासँग कुल १ हजार ८४४ मतभार हुन्छ।

यस्तै एमालेसँग १० प्रदेशसभा सदस्य र ३५ पालिका प्रतिनिधि गरी १ हजार १९५ मतभार छ। राप्रपाको १ प्रदेश सांसदको ५३ र ६ पालिका गरेर एक सय ६७ मतभार छ।

मतभार हेर्दा नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित देखिन्छ।

आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। 

बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।

मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad