गत वर्षको दसैँमा ऋण निकालेर किनिएको गाडी बिहीबारदेखि कर्णाली नदीमा बेपत्ता छ।
गाडीसँगै बेपत्ता छन्, सुर्खेतको पञ्चपुरी नगरपालिका-८, माझीगाउँका दुई सहोदर दाजुभाइ चालक २८ वर्षीय तुलाराम र सहचालक ३१ वर्षीय रामु सुवेदी।
बिहीबार बिहान साढे ११ बजेको समयमा सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित साङ्गेतडामा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खस्यो।
उक्त घटनाले देभर चर्चा पायो। तर सबैभन्दा बढी शोकमा डुबेको छ पञ्चपुरी नगरपालिका-८, माझीगाउँ र सुवेदीको परिवार।
चालक तुलाराम र सहचालक रामु सहोदर दाजुभाइ हुन्। उनीहरूसहित गाडीमा सवार व्यक्तिको अवस्था अझै अज्ञात छ।
चालक तुलाराम सुवेदी परिवारका सदस्य राजकुमार सुवेदीले तुलारामले गएको दसैँमा ऋण निकालेर उक्त गाडी किनेका जानकारी दिए।
अनका अनुसार अरूको गाडी चलाउँदै आएका तुलारामले आफ्नै नयाँ गाडी लिएका थिए। गाडी लिएपछि आफू चालक बनेर गाडी चलाए।
रोजगारीको सिलसिलामा भारतको बेंग्लुरुमा रहेका आफ्ना दाजु रामुलाई घरमा बोलाए, र सहचालक बनाए। उनीहरू करिब ७/८ महिनादेखि एउटै गाडी चलाएका थिए।
यी दुई दाजुभाइको सपना कर्णाली नदीमा हेलिएको छ। नेपालमै बसेर परिवारको भविष्य बदल्नका लागि किनेको गाडी दाइभाइ कर्णाली नदीको भेलमा बिलिन छन्।
दुई दाजुभाइ विवाहित हुन्। उनीहरूको घरमा श्रीमती र ससाना छोराछोरी छन्।
दुर्घटनाको खबर पाएपछि कलिला सन्तान च्यापेर परिवारका सदस्यहरूसँग घटनास्थल पुगेका छन्। तर कर्णाली नदीमा हराएको गाडी बहाव बढेको, जलसतह उच्च भएको र धमिलो पानीका कारण गाडी अझैसम्म फेला पर्न सकेको छैन।
बिहीबार दिउँसोबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयको सहयोगमा खोजीकार्य जारी छ। तर हालसम्म पत्ता लाग्न नसकेको दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवणकुमार विश्वकर्माले बताए।
उनका अनुसार गाडीको खोजी जारी रहे पनि नदीको प्रतिकूल अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर टोली घटनास्थलमा परिचालन गरिएको छ।
Shares

प्रतिक्रिया