कर्णाली


अपडेटः कर्णाली नदीमा बेपत्ता मिनीबस भेटिएन, खोजीकार्य आजका लागि स्थगित

अपडेटः कर्णाली नदीमा बेपत्ता मिनीबस भेटिएन, खोजीकार्य आजका लागि स्थगित

नेपालखबर
असार १८, २०८३ बिहिबार २०:४४, सुर्खेत

कर्णाली नदीमा बेपत्ता मिनीबस नभेटिएपछि आजका लागि खोजीकार्य स्थगित गरिएको छ। बिहीबार बिहान करिब साढे ११ बजेको समयमा कर्णाली राजमार्गबाट यात्रुवाहक मिनीबस फोर्स नदीमा खसेको थियो।

सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ऽ साङ्गेतडास्थित सडकबाट करिब चार-पाँच सय मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको छ।

दिउँसो साढे २ बजेको समयमा बाट सशस्त्र प्रहरी बलको टोली गोताखोरसहितको टोलीले खोजीकार्य थालेको थियो। बिहीबार साँझसम्म खोजी गर्दा गाडी समेत नभेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

जिप्रका दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतमले आज दिनभर गोताखोर टोलीले खोज्दा गाडी नभेटिएको जानकारी दिए। ‘सशस्त्रको टोलीले दिनभर खोजीकार्य गर्‍यो। केही पनि पत्तो नलागेपछि आजका लागि खोजीकार्य स्थगित भएको छ। भोलि फेरि खोजीकार्य अगाडि बढ्छ,’ उनले भने।

साथै उनले नदी धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको बताए। उक्त गाडीमा अनुमानित १४ जना यात्रु सवार रहेको प्रहरीको अनुमान छ।

तीमध्ये एक यात्रुको शव भीरमा भेटिएको छ। भीरमा अड्किएको अवस्थामा भेटिएका ती व्यक्तिको अझै पहिचान हुन सकेको छैन। उक्त शव दुल्लु अस्पताल दुल्लुमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनास्थलमा प्रहरी नायव उपरीक्षक डीएसपी श्रवणकुमार विकको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामग्रीसहित परिचालन भएको थियो।

उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट पनि उद्धार टोली खटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad