कर्णाली


आफैँ प्रहरी कार्यालय पुगेका चन्द्रबहादुरले खुकुरी देखाउँदै भने: ‘श्रीमती मारेर आएँ’

आफैँ प्रहरी कार्यालय पुगेका चन्द्रबहादुरले खुकुरी देखाउँदै भने: ‘श्रीमती मारेर आएँ’

देविका बुढाथोकीको फाइल तस्बिर


दिनेश बुढा
असार १८, २०८२ बुधबार १४:६, सुर्खेत

मंगलबार (असार १७) राति रुकुमपश्चिम जिल्लाको चौरजहारी नगरपालिका-३ टाटागाउँका चन्द्रबहादुर बुढाथोकीको परिवार खाना खाएर सुत्ने तरखर गर्दै थियो।

यसै क्रममा ३२ वर्षीय बुढाथोकी र उनकी ३० वर्षीया श्रीमती देविका बुढाथोकीबीच अचानक झगडा सुरु भयो।

भनाभन यति बढ्दै गयो कि उनीहरूबीच हानाहान नै हुन थाल्यो। 

यस क्रममा चन्द्रबहादुरले खुकुरी निकाले। साथमा रहेका छोराछोरी चिच्याउन थाले।

ज्यान जोगाउन देविका घरबाट निस्केर भागिन्। तर पनि चन्द्रबहादुरले छाडेनन्। पछ्याउँदै गए।

घरभन्दा करिब २५ मिटर टाढा रहेको खेतमा भेट्टाए र पत्नीलाई खुकुरीले छप्काए। देविका ठाउँको ठाउँ ढलिन्। 

प्रहरीका अनुसार देविकाका घाँटी रेटिनुका साथै दुवै हात काटिएका छन्। 

घटना मंगलबार राति १० बजेतिरको हो। 

पत्नीको हत्यापछि चन्द्रबहादुर घरबाट ४ किलोमिटर दुरीमा रहेको इलाका प्रहरी कार्यालय (चौरजहारी) मा रगत लतपतिएको खुकुरी बोकेर पुगेको रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश विष्टले जानकारी दिए।

उनका अनुसार खुकुरी देखाउँदै चन्द्रबहादुरले प्रहरीसमक्ष भने, ‘श्रीमतीलाई मारेर आएँ।’

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो।

घटना सुनाउँदै डीएसपी विष्टले नेपालखबरसँग भने, ‘उहाँहरूबीच पहिलादेखि नै विवाद र झैझगडा हुने गरेको बुझिएको छ। तर झगडा र घटनाको कारण भने खुलिसकेको छैन।’

डीएसपी विष्टका अनुसार चन्द्रबहादुरलाई गएराति नै जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम ल्याइएको छ।

पोस्टमार्टमका लागि देविकाको शव जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad