ad ad

कर्णाली


कर्णाली प्रदेशसभा : यी हुन् समानुपातिकबाट चुनिन सक्ने अनुहार

कर्णाली प्रदेशसभा : यी हुन् समानुपातिकबाट चुनिन सक्ने अनुहार

दिनेश बुढा
मंसिर १९, २०७९ सोमबार १९:३, सुर्खेत

मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको कर्णाली प्रदेशमा नतिजा सार्वजनिक भइसकेको छ। कर्णाली प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरेर जम्मा ४० सिट रहेका छन्।

प्रत्यक्षको नतिजा आएसँगै समानुपातिकमा कुन दलबाट कुन उम्मेदवार आउन सक्छन् भन्दै चर्चा सुरु हुन थालेको छ। 

१० जिल्ला रहेको कर्णाली प्रदेशका सबै जिल्लाको समानुपातिकतर्फको पनि मतगणना सकिएको छ। समानुपातिकतर्फ नेकपा (एमाले) सबैभन्दा पहिलो दल बनेको छ।

प्रतिनिधिसभाको १२ सिटमा एक सिट पनि हासिल गर्न नसेको एमालेले समानुपातिकमा कर्णालीमा ठूलो दल बनेको हो। कूल ५ लाख ७७ हजार ८२९ मध्ये एमालेले १ लाख ८३ हजार ९९० मत प्राप्त गरेको छ।

दोस्रो दल भने नेपाली कांग्रेस बनेको छ। कांग्रेसले १ लाख ७० हजार ७५६ मत प्राप्त गरेको छ।

यस्तै, नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ। नेकपा एकीकृत समाजवादीले ३६ हजार ८२८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २५ हजार १८६ मत प्राप्त गरेको छ। यो आधारमा प्रत्यक्षतर्फ ५ सिट जितेको एमाले समानुपातिकमा पनि ५ सिट प्राप्त गर्ने छ भने प्रत्यक्षतर्फ ९ सिट जितेको नेपाली कांग्रेसले पनि ५ सिट पाउने देखिन्छ। 

यस्तै, प्रत्यक्षतर्फ ९ सिट नै जितेको माओवादीले समानुपातिकका ४ सिट पाउने देखिएको छ। नेकपा (एकीकृत समाजवादी) र राप्रपाले १/१ सिट समानुपातिकमा पाउने देखिन्छन्।

कर्णाली प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ २८ वटा दलले निर्वाचन आयोगमा बन्दसुची बुझाएका थिए। ती २८ दल मध्ये एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र नेमकिपाका मात्रै समानुपातिकमा सांसद बन्ने भएका छन्। 

समानुपातिकको मतपरिणाम अनुसार एमालेबाट कालीकोटकी दक्षिणा शाही, रूकुम पश्चिमकी तुलसा मल्ल, दलिततर्फ दैलेख आठबीसकी गमता विक र पुरुषतर्फ सुर्खेत वीरेन्द्रनगरका बालाराम शर्मा सांसद बन्ने देखिन्छन्। यस्तै, दलित पुरुषतर्फ जाजरकोट नलगाडका नवेन्द्र नेपाली निर्वाचित हुने देखिएको छ।  

कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह, हुम्लाकी विजया बुढा, दैलेख चामुण्डाकी इन्द्राकुमारी शाही, जनजातितर्फ सुर्खेतकी बलिमाया बुढा र दलितबाट सल्यानकी लक्ष्मी सुनार निर्वाचित हुने देखिन्छ। 

यस्तै, माओवादी केन्द्रबाट कालीकोटकी यसोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का रोका, जनजातिबाट हुम्लाकी जुम्कित लामा कार्की, दलितबाट डोल्पाकी उर्मिला विक निर्वाचित हुने देखिन्छ।

यस्तै, समाजवादी र राप्रपाबाट को निर्वाचित हुने भन्ने अहिले अन्योल हुने देखिन्छ। खसआर्यतर्फ पुरुषतर्फ समाजवादीबाट दैलेखका बरुनाथ योगी र राप्रपाबाट जुम्लाका रमानन्द आचार्यको नाम चर्चामा छ। तर, यो आधारमा महिला सांसदको संख्या १४ पुग्दैन। संविधानमा भएको संवैधानिक व्यवस्था अनुसार प्रदेश सभामा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने हुन्छ।

३३ प्रतिशत संख्या पुर्याउनका लागि प्रदेश सभामा १४ जना महिला सांसद आवश्यक पर्ने गर्दछन्। 

यस्तै, ३३ प्रतिशत महिला पुर्याउनका लागि राप्रपा र समाजवादीबाट महिला सांसद आउने सम्भावना बढी देखिन्छ। त्यसो भएको खण्डमा राप्रपाबाट सुर्खेतकी सन्तोशी शाही ठकुरी र रुकुमकी कल्याणी खड्का आउने सम्भावना देखिन्छ। दुवै जना खसआर्यतर्फ प्राथमिकताक्रममा पहिलो नम्बरमा परेका छन्।

यस्तै नेपाल मजदुर किसान पार्टीले पनि कर्णालीमा १‌.५  प्रतिशतकाे थ्रेसहोल्ड कटाएकाे छ। त्यसकारण एक जना सांसद नेमकिपाले पनि पाउने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .